काठमाडौँ – नेपालले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। मुलुकमा आवश्यक मात्रामा गहुँ उत्पादन हुन नसकेपछि नेपाल सरकारले भारत सरकारसँग २ लाख मेट्रिक टन गहुँ आयातको माग गरेको थियो। सो अनुरूप भारतले ९० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने सहमति जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै गहुँ आयात गर्न इच्छुक फर्म तथा कम्पनीहरूका लागि आवेदन माग गरेको छ।भारत सरकारबाट नेपालका फर्म\कम्पनीका लागि छुट्याएको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवदेन माग गरिएको छ । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने छ । गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीको चुक्तापुँजी एक करोड रुपैयाँ हुनुपर्ने छ ।

आवेदन म्याद: ७ दिनभित्र आवेदन दिनुपर्ने
न्यूनतम आयात परिमाण: १०० मेट्रिक टन
अधिकतम आयात परिमाण: १० हजार मेट्रिक टन
चुक्तापुँजी: इच्छुक फर्म वा कम्पनीको १ करोड रुपैयाँ हुनुपर्ने
स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकामा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको थिएन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९र८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८र७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
