डोनाल्ड ट्रम्प इफेक्ट-अमेरिकी अनुदानका सबै परियोजना रोक्न नेपाल सरकारलाई पत्राचार

अर्थ समाचार

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका  परियोजनाहरुको काम स्थगन गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश लागू भएपछि अमेरिकी सरकारले नेपाल सरकारसँग सम्झौता गरेर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत चलिरहेका साना-ठूला सबै परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता महेश भट्टराईले यूएसएआईडीले अनुदानबाट सञ्चालन भएका परियोजना रोक्न नेपाललाई पनि पत्राचार गरेको जानकारी दिए।  उनका अनुसार ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यूएसएआईडी श्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न अर्थमन्त्रालयले सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराएको छ।

‘USAID र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित Development Objective Agreement (DOAG) मार्फत  नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (On-Budget On-Treasury) चार वटा आयोजनाहरु क्रमशः USAID Health Direct Financing Project, USAID Agricultural  Direct Financing Project, USAID Education Direct Financing Project र USAID Inclusive Policy Direct Financing Project  मा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको USAID नेपालले पत्रमार्फत जानकारी गराएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत USAID श्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ।’