लिने होइन त ५ लाखदेखि २५ लाखसम्म स्टार्टअप कर्जा ? 

अर्थ समाचार

सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार १,३१४ परियोजनाहरू छनोट गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ५,१५८ परियोजनामध्ये प्रारम्भिक सूची तयार गर्दै छनोट भएका परियोजनाहरूलाई व्यावसायिक योजना पेश गर्न आगामी आइतबार आह्वान गरेको छ।

छनोट भएका परियोजनालाई तीन प्रतिशत ब्याजमा बिनाधितो अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रदान गरिने छ । गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा वितरण कार्यक्रम कार्यान्वयनमा आएको थियो । चालु आवमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने योजना छ । सोही अनुसार स्टार्टअप उद्यमीबाट प्रस्ताव आह्वान गरिएको थियो ।

कार्यविधि अनुसार तोकिएका १९ क्षेत्रमा परियोजनाको आवेदन प्राप्त भएको छ । यसमध्ये सबैभन्दा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी  उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोेर्ट्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधनलगायतका क्षेत्रमा सबैभन्दा बढी परियोजनासम्बन्धी आवेदन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । गत आवमा २५ करोड रुपियाँ विनियोजन गरिएकोमा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो ।

न्यूनतम ५ लाखदेखि २५ लाखसम्म कर्जा दिइने

स्टार्टअप कर्जा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म सुहलियत ब्याजदरको कर्जा दिइने छ । कर्जा अवधि अधिकतम पाँच वर्षको हुनेछ । कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि सावाँ वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्ने छ ।

उद्यम तथा परियोजना नै धितो मानेर ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिने व्यवस्था छ । स्टार्टअप उद्यम कर्जा लिन उद्योग–व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्ने छ । स्थापनापछि कुनै पनि आर्थिक वर्षमा कारोबार वर्षमा १५ करोड नाघेको हुनु हुने छैन । यस्तो उद्योग नगाभी वा नटुक्र्याइकनै नयाँ व्यवसायका रूपमा रहेको हुनुपर्ने छ ।

प्राथमिकता क्षेत्रहरू

  • सूचना प्रविधि
  • पर्यटन
  • फर्निचर
  • लघु उद्योग
  • निर्माण सामग्री
  • वर्कसप
  • गार्मेन्ट तथा हस्तकला
  • खाद्य प्रशोधन
  • क्याफे तथा रेस्टुराँ
  • संगीत तथा खेलकुद
  •  कृषि तथा पशुपन्छी
  • अवश्यक मापदण्ड

    स्टार्टअप कर्जा लिन इच्छुक उद्यमले निम्न मापदण्ड पूरा गर्नुपर्नेछ:

    1. उद्योग दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्ने।
    2. कारोबारको वार्षिक आम्दानी १५ करोड रुपैयाँभन्दा कम हुनुपर्ने।
    3. उद्योग नयाँ व्यवसायका रूपमा स्थापित हुनुपर्ने।

    प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी, वा सहकारी संस्थाका रूपमा दर्ता भएका उद्यमहरूले कर्जा सुविधा पाउनेछन्।

    यस कार्यक्रमले नयाँ उद्यमीहरूलाई बिनाधितो कर्जाको माध्यमबाट आर्थिक सहयोग गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।