सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल पुनः निर्विरोध, वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय

अर्थ समाचार

काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)को अध्यक्षमा उपेन्द्र पौड्याल पुनः निर्विरोध चयन भएका छन्। सिविफिनको पाँचौं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा अन्य कुनै उम्मेदवारी नआएपछि पौड्यालसहित सचिवबाहेकका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् भने उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली चयन भएका छन्। महासचिवको पदमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी, कोषाध्यक्षमा एनआईसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह-कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्।