बैंकर्स संघमा जुट्यो सहमति: सन्तोष कोइराला अध्यक्ष निश्चित

अर्थ

नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटेको छ । सामन्यतय वर्तमान उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने परम्परा रहँदै आएकोमा यसपटक अध्यक्ष पदमा प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएपछि बैंकर्स संघमा चुनावी महासंग्रामको स्थिति उत्पन्न भएको थियो । संघको अध्यक्ष पदका लागि १३ वर्षपछि दुईजनाको उम्मेदवारी परेको हो । विधानले अध्यक्षको चयन निर्वाचन प्रक्रियाबाट हुने भने पनि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने गरेका थिए । जसअनुसार सन्तोष कोइराला भावी अध्यक्ष चयन हुने थिए । तर, मनोनयन दर्ताका क्रममा प्रभु बैंकका सीईओ शेरचनले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । यही प्रचलनलाई कायम गर्नु पर्ने सम्बन्धमा पूर्वअध्यक्षहरुको प्रस्तावमा शेरचन सहमत हुँदै उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।

नेपाल बैंकर्स संघबाट इन्स्टाखबरलाई प्राप्त सूचनाका अनुसार सहमतिको अन्तिम प्रयास सफल भएको बताइएको छ । आजको छलफलपछि शेरचन पछि हट्ने भएसँगै बैंकर्स संघको नयाँ नेतृत्व पनि सहमतिबाटै चयन हुने भएको हो ।

शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन्।

नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच सोमबार भएको छलफलमा प्रभु बैंकका सीईओ अशोक शेरचन उम्मेदवारी छाड्न तयार भएका हुन् ।

आजको छलफलपछि शेरचन पछि हट्ने भएसँगै बैंकर्स संघको नयाँ नेतृत्व पनि सहमतिबाटै चयन हुने भएको हो ।

संघको ३८औं साधारण सभा पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

बैंकर्स संघमा चुनावी महासंग्राम: सन्तोष कोइराला र अशोक शेरचन आमने सामने, सहमतिको लागि अन्तिम प्रयास जारी