विशेष अदालतको फैसलाले भविष्यमा विमान खरिद गर्ने पदाधिकारीहरु तर्सने र विदेशी एयरलाइन्सलाई पोस्ने कामलाइ प्रोत्साहन पुग्छ:सुगतरत्न कंसाकार

अर्थ समाचार

गत २०८१ मंसिर २१, शुक्रबार विशेष अदालत बाट नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोडभन्दा बढी भ्रष्टाचार ठहर भएको थियो ।

विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाउँदा नेपाल सरकारका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् । दुई वटा वाइडबडी खरिदमा एक अर्बभन्दा बढी अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आज सामाजिक संजाल फेस बुक मा पोस्ट राख्दै विशेष अदालतको फैसलाले भविष्यमा विमान खरिद गर्ने पदाधिकारीहरु तर्सने र विदेशी एयरलाइन्सलाई पोस्ने कामलाइ प्रोत्साहन पुग्ने बताएका छन |

“म निगमको CEO हुँदा गरेको दुईवटा ग्लोबल टेण्डर दुबैमा संसदिय समितिहरु र अख्तियारले छानविन गरेपछि देशभर हल्लाखल्ला भयो। २४ वटा मन्त्रालय र ४३ वटा अरु सार्वजनिक संस्थाहरुको अन्य धेरै खरिद कार्यहरुमा भन्दा विमान खरिद टेण्डरमा मात्र बढी चर्चा किन हुने गरेको होला भनि विश्लेषण गर्न जरुरी छ। निगममा विमान थप्दै निगमको business volume बढाउँदै विदेशी एयरलाइन्सहरुसँग प्रतिस्पर्धा गर्दै गएपछि मात्र निगमको व्यापार breakeven मा पुग्ने सामान्य ज्ञानको कुरा हो। एक फाइभस्टार होटेल ४० कोठाको छ भने घाटामा जाने निश्चित छ, र कोठा थप्दै business volume बढाउँदै एक दिन breakeven मा पुर्याउने लक्ष लिएर अघि बढ्नै पर्ने हुन्छ। तर, विडम्बना विदेशी एयरलाइन्सलाई पोस्ने काम जारी नै छ; यो काम जारी रहेसम्म नेपाल एक संसारकै महँगो हवाई गन्तब्य भइनै रहनेछ; यो काम जारी रहेसम्म एर्पोर्टको ट्वाइलेट जतिसुकै सफा गरेपनि पर्यटक संख्या उल्लेखनीय रुपमा नबढ्ने निश्चित छ; र वाइडबडी “काण्ड”सम्बन्धी विशेष अदालतको चर्चित फैसलाबाट भविष्यमा विमान खरिद गर्ने पदाधिकारीहरु तर्सने हुँदा यो विदेशी एयरलाइन्सलाई पोस्ने कामलाई मलजल थपिदिएको पनि एक धरातलीय यथार्थ हो।”