मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने

राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौंले आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रम ‘देश चिन्तन २०८१’ मा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ।’

नेतृत्व तहमा इमान्दारिताको खडेरी भएको बताउँदै नेता जबराले भने, ‘हामीसँग विकास गर्न सबै चिज छ, नभएको केही छैन तर नेतृत्व गर्ने तहमा इमान्दारिताको खडेरी छ। सबैले इमान्दारिता देखाउन जरुरी छ।’

‘देश चिन्तन २०८१’ मा नेतागण, समाजका अगुवाहरू, र अर्थ, राजनीति, धर्म, तथा संस्कृति क्षेत्रमा सक्रिय राष्ट्रवादी विचारधारा बोकेका महानुभावहरूको सहभागिता रहेको थियो । भेलाको क्रममा देशको समग्र प्रगतिको यात्रामा हामीले सामना गर्नुपरेको अवरोध, अस्थिर राजनीति, उग्र भ्रष्टाचार, धर्म-संस्कृति, र राष्ट्रिय एकताको विषयमा एकापसी संवाद भएका थिए।

राष्ट्र रक्षार्थ एकता अभियान, काठमाडौंको उद्देश्य सम्पूर्ण नेपाली नागरिकसंग समन्वय गर्दै राष्ट्रहितको लागि नेतृत्व लिने नभई समवन्यात्मक भूमिका निर्वाह गर्ने साझा थलो भएको अभियानले जनाएको छ ।