भक्तपुरका घरघरमा आजै भित्र्याइयो फूलपाती

समाचार

भक्तपरका नेवाः समदायले आज फूलपाती भित्र्याएका छन्। फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले आजैदेखि सार्वजनिक बिदा दिएको थियो। नयाँ तालिकाअनुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती आज बिहान ७:३४ को शुभसाइतमा गर्ने र दिनभर फूलपाती भित्रयाएपछि घरघरमा मासु भित्र्याउने र साँझ भोज खाने परम्परा छ।

यहाँका नेवाः सामुदायले आज बिहान ७:३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीवार बिहान ७:२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६:५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), ताँःपूजा गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो।

भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पुजारीहरुले विज्ञप्ति जारी गरी असोज २३ गते फूलपाती मनाउने निर्णय गरेको थियो । तलेजुका मूल नाइके, पूजारी एवं सरोकारवाला व्यक्तिले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरकावासीले आज फूलपाती भित्र्याएका हुन्।

नगरप्रमुख प्रजापतिले भक्तपुर तलेजुका पुजारी एवं तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर आज फूलपाती मनाउन आह्वान गरेको बताए। स्थानीय व्यासी निवासी एवं पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले नेवारी परम्पराअनुसार आज फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको बताए।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७:११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८:३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११:३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

तलेजुलाई दसैँघर भित्र्याइयो  

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आज फूलपातीको दिनबाट विधिवत् रूपमा बडा दसैँ सुरु भएको छ। आज शुभसाइतमा तलेजुलाई मूलघरबाट मूल चोकमा बिराजमान गराई दसैँ घरमा भित्र्याइएको हो।