रवि लामिछाने दोषी रहेको सहकारी छानबिन समितिको ठहर

राजनीति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सहकारी संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ ।  कम्पनीका अध्यक्ष (गितेन्द्रबाबु) जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको हो ।

सहकारी छानबीन समितिले साे प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा  पेस गर्ने भएको छ ।  एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो ।

शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो । समितले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगि भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरी ६३ वटा बैठक गरेको थियो ।