पल्सर स्पोर्ट्स अवार्ड: एरिका र रोहित वर्ष उत्कृष्ट खेलाडी

खेलकुद

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी करातेकी एरिका गुरुङ र क्रिकेटका रोहित पौडेल घोषित भएका छन्। वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा महिला तर्फ एरिका र पुरुष तर्फ रोहितले बाजि मारे।

एरिकाले गत वर्ष चीनमा सम्पन्न एसियन गेममा नेपाललाइ एतिहासिक रजत पदक दिलाएकी थिइन्। उनी एसियाडमा रजत पदक जित्ने दोस्रो खेलाडी बन्दा करातेमा सर्वाधिक उच्च पदक जित्ने खेलाडी बनेकी थिइन्। उनले २०८० मा इन्डोनेसियाको जकार्तामा भएको सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा पारेकी थिइन्। उनले अवार्ड हात पार्ने क्रममा कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

त्यस्तै क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाललाई विश्वकपमा छनोट गराउँदा उल्लेख्य भुमिका निभाएका थिए। रोहितको कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो। उनले मनोनयनमा परेका फुटबलका अन्नत तामाङ, क्रिकेटकै दिपेन्द्र सिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारेका थिए।

अवार्ड समारोहमा एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरिएको थियो।

पल्सर स्पोर्ट  पिपुल्स च्वाइस अवार्डको उपाधि भलिबल खेलाडी कविता भट्टले जित्न सफल भइन्। उनले ५६ प्रतिशत मत प्राप्त गरिन्। काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य रहेकी उनी घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। उनले पल्सर मोटरसाइकल प्राप्त गरिन्। मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौंथो भए। खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो। ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो। त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो।

दक्षिण कोरियाका हि डोङ जोङले एनएसजेएफ स्पोर्टस अवार्डमा एसियन स्पोर्टस जार्नलिस्टको अवार्ड प्राप्त गर्न सफल भए। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदको विकाशमा पुर्‍याएको योगदानको कदर स्वरुप शुक्रबार कमलादीस्थित पज्ञा प्रतिष्ठानको हलमा जोङलाई अवार्ड प्रदान गरेको हो। उनी एआइपिएस एसियाका अध्यक्ष समेत हुन्। अवार्डसँगै जोङले १ लाख रुपैयाँ प्राप्त गरे।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभ मेन्ट अवार्डबाट नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको छ। क्यानका संस्थापक मध्ये एक रहेका पाण्डेले सन् १९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा संगठित संघ गठन गर्ने सल्लाह अनुसार क्यानको स्थापनामा अहम भुमिका खेलाएका थिए। क्यानको संस्थापक अध्यक्ष जय कुमारनाथ शाह हुँदा पाण्डे महासचिवको जिम्मेवारीमा‌ रहेका थिए। यसपछि उनले नेपाली क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय दिएका छन। उनको उच्च योगदानको कदर गर्दै एनएसजेएफले उनलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ।

समारोहमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गर्न सफल भइन्। गत वर्ष भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेर इतिहास रचेकी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो। २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो।  उनलाई यो अवार्ड सहित नगद १ लाख रुपैयाँ प्राप्त गरिन्।

भलिबलका प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भए। नेपाली महिला भलिबलको लोभलाग्दो सफलताका पर्याय बनेका राइले खेलाडी उत्पादनमा लोभलाग्दो योगदान दिएका थिए।  उनले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। गत वर्ष १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जित्दा उनको प्रशिक्षणमा उनले पदक जितेकी थिइन्। नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा नेपाललाई १ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहुत नौ पदक दिलाएका थिए। श्रेष्ठले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई, कबड्डीका पार्वती राई भारतोलनका सञ्जय मर्हजनलाई‌ पछि पार्दै अवार्ड हात पारे। उनले पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।

समारोहमा भारोत्तोलनका हेमन्त पालले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पार्न सफल भए। नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्डमा उनले फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमाल र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए। १६ वर्षीय युवा स्टार हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो। ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन एन्ड जर्कमा १ सय १० केजी गरी कुल २ सय १० केजी भार उठाएका थिए। उत्कृष्ट युवा खेलाडी घोषित हेमन्तले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे।

गत वर्ष नेपाललाई एतिहासिक रुपमा एसियाली खेलकुद प्रतियोगितामा काश्य पदक दिलाएको कबड्डी टोली २०८० को उत्कृष्ट टिम घोषित भयो। एनएसजेफ पल्सर स्पोटस अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित कबड्डी टोलीले आफ्नो पहिलो सहभागितामै एतिहासिक पदक जित्न सफल भएको थियो।