एयरपोर्ट फुल फ्लेजमा संचालन भयो भने होटेलहरूको समस्या आफै हटेर जान्छ: बिज्ञान राज सुवेदी

अर्थ पर्यटन

(टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्क मा रूपन्देहीका होटल, टेन्सनमा बैक ! इन्स्टाखबरको विशेष प्रस्तुतिको लागी नेपाल राष्ट्र बैंक, लुम्बिनी प्रदेश इकाईका निर्देशक विज्ञान राज सुवेदी सँग कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नु भएको अन्तर्वार्ता)

लुम्बिनी प्रदेशको, अझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आसपासको क्षेत्रका होटल व्यवसायहरु अपेक्षाक्रित रुपमा पर्यटक आगमन नहुँदा वित्तीय संकटमा रहेको साथै यस क्षेत्र्मा ७५ अरब बराबरको लगानी जोखिममा रहेको भनिन्छ – राष्ट्र बैंकको नजरमा अहिले दावी गरिएको संकटको यथार्थ दबाव कुन स्तर सम्मको छ ?

होटल व्यवसायीहरूसँग राष्ट्र बैङ्कले गरेको अन्तरक्रियाहरूबाट के भन्न सकिन्छ भने सञ्चालनमा रहेका पुराना होटलहरूमा त्यो स्तरको समस्या छैन। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ र क्षेत्रमा टुरिस्ट फ्लो बढ्छ भन्ने पूर्वानुमान नयाँ खुलेका र नयाँ निर्माणको क्रममा रहेका होटलहरूमा भने अलि अधिक समस्या देखिएको छ।

नयाँ होटलहरमा समस्या भने देखिएको हो, कतिपय निर्माणाधीन होटलहरू निर्माण निरन्तर गर्ने, नगर्ने दुविधामा समेत छन्, ब्याङ्किङको सन्दर्भमा समेत समस्याहरू देखिएका छन्। यस्ता होटलहरूको कर्जा र ब्याज भुक्तानीमा समेत समस्या रहेको स्थानीय बैङ्कहरूले समेत रिपोर्ट गरेका छन्।

अहिलेसम्म प्रायजसो यहाँ आउने पर्यटकहरू मध्ये, इन्डियाबाट आउने धेरै छन् र तिनको आकर्षणबिन्दु भनेको क्यासिनो रहँदै आएको छ, वेडिङ्ग डेस्टिनेसन पनि हो यो इन्डियनहरूको, यो सेग्मेंटलाई सर्भिस दिने धेरै होटलहरू त राम्रै चलेका पनि छन्। तर नयाँ होटलहरूमा समस्या भने देखिएको हो, कतिपय निर्माणाधीन होटलहरू निर्माण निरन्तर गर्ने नगर्ने दुविधामा समेत छन्, ब्याङ्किङको सन्दर्भमा समेत समस्याहरू देखिएका छन्। यस्ता होटलहरूको कर्जा र ब्याज भुक्तानीमा समेत समस्या रहेको स्थानीय बैङ्कहरूले समेत रिपोर्ट गरेका छन्।

अनुमानित ५० को संख्यमा निर्माणाधीन होटलहरु यस क्षेत्र्मा रहेको हामीले जानकारी पाएको र त्यसमध्ये अधिकांसको बैंकिंग सम्बन्धि समस्या रहेको, लिलामी सुचीमा चढेका अथवा कालो सुचीमा रहेको भन्ने व्यवसायीहरुको गुनासो रहेको छ – राष्ट्र बैंक सिद्धार्थनगरको तत्थ्याङ्क सँग के यो मेल खान्छ ?

यसमा कतिवटा कालोसूचीमा गयो, कतिवटा लिलामीमा गयो भन्ने ठयाक्कै अहिले मसँग अपडेटेड तथ्याङ्क त छैन मसँग, तर होटलहरूको क्यास फ्लो अत्यन्त न्यून भएको बैङ्कहरूले रिपोर्ट गरेको भने हो। यसको कारण बैकको साँवा ब्याज भुक्तानीमा होटलहरू अफ्ठेरोमा परेको निश्चित हो। यस्तो अवस्थामा बैक तथा वित्तीय संस्थाहरूले त्यसलाई रिशेडुलिङ्ग गरिदिने बैङ्कहरू ले गरिनै रहेको पनि छन्। हुन त रिशेडुलिङ्गले मात्र समस्या समाधान हुने हैन, यसले समस्यालाई केही समय पर सार्ने हो। कतिपय यस्ता व्यवसायीहरू सँग थप धितो समेत मागेर समेत बैङ्कहरूले अवस्था सहज पर्ने प्रयास गरेकै छन् ।
कोभिडपछि हाम्रो राष्ट्र बैङ्कको पोलिसीले समेत होटल व्यवसायी मात्र हैन सबै व्यवसायीहरूलाई केही सहुलियत त प्रदान गरेकै हो। समय-क्रममा बिस्तारै ती सहुलियतहरू हट्दै जाँदा समेत केही समस्या यहाँ देखिएको हो।

सिद्धार्थ होटल एसोसिएसनका अनुसार एसोसिएसनले आफै लगायत होटल एसोसिएसन नेपाल हान सहित संयुक्त रुपमा समेत अर्थ मन्त्रालय लगायत राष्ट्र बैकमा समेत होटेल व्यवसायमा देखिएको समस्याको निराकरणको लागि विशेष व्यवस्थाको माग पटक-पटक गरेको बताएका छन्। तर त्यसको मौद्रिक नीतिमा समेत सुनवाई नभएको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् – परिस्थितिको गाम्भीर्यता, राष्ट्र बैक तथा होटल व्यवसायीहरूको मुद्दामा भिन्नता अथवा बुझाइमा कुनै अन्तर रहन गएको हो ?

होटेल सेक्टरको सन्दर्भ मा यस लुम्बिनी प्रदेशमा रूपन्देही क्षेत्र आसपासको परिस्थिति अलि फरक हो, राष्ट्रिय रुपमा अन्य होटलहरूमा त्यस्तो समस्या नहुनु पर्ने देखिन्छ। गत वर्ष टुरिस्ट फ्लो १० लाख नाघ्न सफल थियो, यस वर्षको छ महिनाको फ्लो समेत उत्साहजनक नै रहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना क्षेत्र जस्तै भैरहवा, लुम्बिनी लगायतको भेगमा मात्र केही समस्या रहेकोले मौद्रिक नीतिले यसलाई तोकेरै सम्बोधन नगरेको हुनुपर्छ तर टुरिजम सम्बन्धी केही पोलिसी मौद्रिक नीतिमा समावेश भएकै छ। साथै लोन रिशेडुलिङ्ग सम्बन्धी राष्ट्र बैकको पहिलेनै एकीकृत निर्देशन मै व्यवस्था छ। बैंक, वित्तिय संस्थाले यसको पहिचान गर्नसक्ने र प्रदान गर्नसक्ने प्रावधान । के कारणले समस्या देखिएको हो नियतवश हो अथवा परिस्थितिजन्य हो, होटेल सञ्चालन गर्न भनेर कर्जा लिएर अन्त दुरुपयोग गरेर नतिरेको हो, अथवा आम्दानी हुँदाहुँदै समेत नतिरेको हो यसको निर्क्योल बैङ्कहरुले आफै गर्छन् र हो भने विल फुल डिफल्टर भएको अवस्थामा रिकभरीमा लैजाने कानुनी प्रक्रिया अलग हुन्छ। अब परिस्थितिजन्य अवस्था हो भने जुन टुरिस्ट फ्लो नभएर जसको क्यास फ्लो रोकिएको छ भने व्यवसायीले आफ्नो नयाँ प्लान देखाएर लोन रिस्ट्रक्चरिङ्ग’ रिशेडुलिङ्ग गर्न सक्ने व्यवस्था त कायमै छ र जुन कार्य बैंकहरुले गरिरहेकै अवस्था छ।

होटल र पर्यटन क्षेत्र मात्र नभएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएयता त्यस क्षेत्रको समग्र आर्थिक परिदृष्य नै चलायमान भएको थियो तर एयरपोर्ट सञ्चालनमा आएपछि पनि यसले इकोनमीमा आशातित सिनर्जी त अहिलेसम्म थप्न नसकेकै हो। यस्तो अवस्थामा क्रेडिट रिस्क वेटेजको आधारमा लुम्बिनी प्रदेशको अवस्था कस्तो रहेको छ?

क्रेडिट फ्लोको हिसाबले लुम्बिनी प्रदेशमा राम्रो अवस्था रहेको छ। डिपोजिट मोबिलाइजेसन भन्दा प्रदेशमा क्रेडिट फ्लो अधिक रहेको छ, यस हिसाबले उद्योग, व्यापार , होटल र अन्य व्यवसायमा कर्जाको प्रवाह राम्रो रहेको छ। टुरिजम सेक्टर मै हेर्ने हो भने लुम्बिनी प्रदेशमा गत पौष मसान्तसम्ममा २३ अरब १८ करोड कर्जा लगानी भएको छ। ग्रोथ रेट भने यो बर्ष १.३ प्रतिशत भएको छ, जसको कारण एयरपोर्ट संचालन हुन् नसक्नु नै नत्र यसभन्दा अघिल्लो वर्ष यसको ग्रोथ रेट १० प्रतिशतको थियो। प्रष्ट देखिन्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन नसक्दा मार्केटमा कन्फ़िडेन्स लो भएको छ, नयाँ ऋण माग घटेको छ।

यहाँसम्म त अहिले हामीले यस क्षेत्रको होटल व्यवसाय र त्यसमा कर्जा लगानीको अवस्था र हाल सतहमा देखिएको डिस्प्युटको चर्चा गर्यौ अब नियामक निकाय रुपमा यसको आगामी रोड म्याप कस्तो देख्नुहुन्छ, अहिलेको स्लो डाउनमा सुधार अथवा थप प्रेसर ?

हामीले हेर्दा २५ प्रतिशतको अकुपेन्सी होटलहरूमा देखिन्छ तर एयरपोर्ट फुल फ्लेजमा संचालन भयो भने यो समस्या आफै हटेर जान्छ र यससँग जोडिएको क्यासफ्लो र लोन, इन्ट्रेस्टसँग जोडिएको समस्या समेत समाधान हुँदै जाने निश्चित नै छ | अहिले एयरपोर्ट फुल फ्लेजमा सञ्चालन गर्न सरकारबाट व्यापक पहलहरू समेत भइरहेको छ | गत भाद्र १४ गते यहाँ कार्यक्रम समेत भएको थियो, अर्थ मन्त्री, पर्यटन मन्त्री सहित, वहाँहरूले समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चलनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ, यसले उत्साह समेत थपिएको छ |

टुरिजम सेक्टर मै हेर्ने हो भने लुम्बिनी प्रदेशमा गत पौष मसान्त सम्ममा २३ अरब १८ करोड कर्जा लगानी भएको छ। ग्रोथ रेट भने यो वर्ष १.३ प्रतिशत भएको छ, जसको कारण एयरपोर्ट संचालन हुन् नसक्नु नै नत्र यस भन्दा अघिल्लो वर्ष यसको ग्रोथ रेट १० प्रतिशतको थियो।

अब राष्ट्र बैङ्कले गर्ने भनेको लोन रिशेडुलिङ् र रिशेडुलिङ्गमा केही सहजीकरण गरिदिने कुरा हो | विमानस्थल पूर्ण रुपमा सन्चालनमा आउने सम्भावनामा वृद्धि हुँदै गएको छ यस्तो अवस्थामा बैंकहरु समेत यसमा सकारात्मक भइहाल्छन्, आगामी दिन यस्तो निराश रहँदैन , स्थितिमा अवश्य सुधार आउने छ |
अर्को लुम्बिनीमा डोमेस्टिक पर्यटक को चाप पनि हरेक वर्ष बढ्दो छ, यसले समेत थप उर्जा अवश्य दिने छ | इन्टनरनेशनल एयरलाइन्सहरूले समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न उत्सुकता देखाइरहेको र सरकारसँगको समन्वयमा समेत भएको वृद्धिले थप सम्भावना बढाएको छ | यी सब कारणहरूले अहिले होटल तथा पर्यटन क्षेत्रमा देखिएको समस्याको यथाशिघ्र समाधान निस्कन्छ भन्नेमा आशा गर्न अवश्य सकिन्छ |

एयरपोर्ट फुल फ्लेजमा संचालन भयो भने होटेलहरूको समस्या आफै हटेर जान्छ: बिज्ञान राज सुवेदी

एयरपोर्ट फुल फ्लेजमा संचालन भयो भने होटेलहरूको समस्या आफै हटेर जान्छ: बिज्ञान राज सुवेदी