रैथाने बीउ र बालीको संरक्षण गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

विविध

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन्।

रैथाने एग्रो प्रोडक्टस् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको अवलोकन गर्दै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताए। रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकारवालाको ध्यान जानुपर्ने उनको भनाइ थियो।

चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिका लागि त झन् समस्या हुन थालेको उनले सुनाए। चुरे क्षेत्रको संरक्षण नगरी सडक बनाउँदा अन्न भण्डार तराई उजाड बन्ने खतरा देखिएको सचेत हुन यादवले सचेत गराए।

पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्था अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ थियो।

सो अवसरमा रैथाने एग्रो प्रोडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अर्ग्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराए।