जनताकाे मुद्दा बाेक्न प्रहरीहरुलाई गृहमन्त्री लेखककाे निर्देशन

समाचार

गृहमन्त्री रमेश लेखकले जनताकाे मुद्दा बाेक्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाे नवनिर्मित भवन तथा भाैतिक पूर्वाधारहरुकाे  समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताकाे मुद्दा बाेक्दा प्रहरीहरुकाे मुद्दा पनि सँगै आउने बताउनुभयो ।

“प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताकाे मुद्दा बाेक्नुपर्याे । जनताको मुद्दा बाेक्दा आफ्नाे मुद्दापनि आइहाल्छ,” उहाँले भन्नभयाे ।

सरकार बनेकाे सय दिनमा १० वटा काम गर्ने याेजना सहित काम गरिरहेकाे पनि गृहमन्त्री लेखकले बताउनुभयाे ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जाेडिएकाे छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंकाे नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताउनु भयाे ।

“याे भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलाे सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् ।
सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हाे,” गृहमन्त्री लेखक भन्नुभयो ।

यस्तै उहाँले कांग्रेस र एमाले मिलेर सरकार बन्नुकाे उदेश्य प्रस्ट पार्नुभयाे

“दुई ठूला दल मिलेर सरकार बनेकाे छ । अहिलेकाे सरकार हामी केही मान्छे मन्त्री बनिहालाैं भनेर भनेकाे हाेइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयाे । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्याैँ,” उहाँ भन्नुभयाे, “याे सरकारकाे उदेश्य भनेकाे सरकारकाे स्थायित्व, आर्थिक विकास, दिगाे शान्ति, सुशासन र समावेशी चरित्रकाे राज्य व्यवस्था स्थापित गराउने हाे।”  कांग्रेस र एमाले  मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखककाे दाबी छ ।

“यसकाे उदाहरण १८ वर्षसम्म अल्झिएकाे संक्रमणकालीन न्यायकाे विषय निष्कर्षमा पुगेकाे छ । हामी नेता उहीँ हाैँ । छलफल हामीबिच नै भएकाे थियाे । तर दुई दल मिल्दा बढेकाे आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छाैँ, ” उहाँले भन्नुभयाे ।