हेमबहादुर मल्ल सम्मानबाट डा. भेषबहादुर थापालाई सम्मानित गरिने

विविध

डा. भेषबहादुर थापालाई विसं २०७९ को हेमबहादुर मल्ल सम्मानबाट सम्मानित गरिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल जनप्रशासन सङ्घसँगको सहकार्यमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी गराएको हो।यो सम्मान नेपालको सार्वजनिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई प्रदान गरिन्छ।

कर्पोरेशनले आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा विसं २०५९ देखि यो सम्मान प्रदान गर्दै आएको छ। स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड र सुवर्ण फर्मास्युटिकल्स लिमीटेडको पनि अध्यक्ष थिए ।

आगामी बुधबार प्रदान गरिने यस सम्मानको राशि दुई लाख रुपैयाँ रहेको छ। डा. भेषबहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैंकका चौथो गभर्नर हुन्।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भइसकेका छन् । डा. भेषबहादुर थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुन् ।