उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म यकिन नभए पनी मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको मानिन्छ।
रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवताका पूजा अर्चना गर्ने प्रचलन छ । आजको दिन जाउलाखेलमा राष्ट्रप्रमुखलाई भोटो देखाएपछि जात्रा समापन गर्ने परम्परा छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो , रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।
नेवारी समुदायको महान पर्वको रुपमा मनाइने यो जात्रा वि.सं. ५४६ देखि सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू र बौद्ध धर्मालम्बीले धुमधामका साथ मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
जात्राको इतिहास
जात्राको सुरुवात लिच्छिविकालीन राजा गुणकामदेवले शुरु गरेको यो जात्राको मुल थलो ललितपुरको बुङ्मती हो। जसलाई नेवारी भाषामा वोदेयो भन्ने गरिन्छ। काठमाडौंमा मछिन्द्रनाथको रथ तान्न थालेदेखि पानी परेको संस्कृतिविद्हरु बताउँछन्। रातो मछिन्द्रनाथलाई महिला र पुरुष दुवै स्वरुपमा पुजिन्छ। करिब ५० फिट लामो रथलाई ललितपुरको पुल्चोकमा तयार गरी मछिन्द्रनाथको मूर्तिलाई विधिवत रुपमा प्रतिस्थापन गरिसकेपछि जात्रा औपचारिक रुपमा सुरु हुन्छ। रथलाई ललितपुरको मंगलबजार, सुन्धारा, लगनखेल तथा जाउलाखेल पुर्याएर भोटो देखाएर विधिवत रुपमा अन्त गरिन्छ। रातो मछिन्द्रनाथको रथ जाउलाखेल पुगेको चार दिनपछि भोटो देखाउने जात्रा पर्छ। बिभिन्न हिरा जडित भोटो राष्ट्र प्रमुखले देखाएपछि जात्रा समापन गरिन्छ। पहिले राजाहरुले अवलोकन गर्दै आएको भोटो जात्रा गणतन्त्र स्थापनापछि राष्टप्रमुखले अवलोकन गर्ने गरिएको छ। भोटो देखाएको साँझ मच्छिन्द्रनाथलाई खटमा राखेर ज्योतिषको सल्लाहअनुसार सोही दिनमा बुङ्मतीमा फर्काउने परम्परा रहेको छ।
कसको हो आज देखाइने हराएको भोटो?
किम्वदन्तीअनुसार रथ यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए ।औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले सजिएको भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो ।
किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् ।मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यहिबेलादेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।
अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।




