कला र संस्कृतिको धनी मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्दै मधुश्रावणी पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। श्रावण कृष्ण पञ्चमीदेखि सुरु हुने यो पर्व १३ दिनसम्म विशेष विधिविधानका साथ मनाइन्छ। नवविवाहिता महिलाहरूले शिव, पार्वती र नागदेवताको पूजा आराधना गरी पतिसँगको अटल प्रेम र सौभाग्यको कामना गर्दछन्।
पर्वको मुख्य आकर्षण हो, फूललोढी !! एक दिनअघि साँझदेखि नै सुन्दर वस्त्रमा सजिएर फूल टिप्न निस्कने बर्तालु महिलाहरूको समूहलाई फूललोढी भनिन्छ। यस क्रममा उनीहरूले सामूहिक रूपमा प्रणय गीत गाउँदै रमाइलो गर्छन्। फूललोढीले नयाँ घर र पतिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ। बर्तालुले पर्वभर चोखो भोजन गर्छन् र जेष्ठ महिला सदस्यबाट पर्वका विधिहरू सिक्छन्। पर्वको क्रममा पौराणिक कथाहरू जस्तै मैना पञ्चमी, विषहरी, मनसा आदि सुनाइन्छन्। यी कथाहरूले धार्मिक र सामाजिक मूल्यमान्यतालाई उजागर गर्छन्। फूललोढीका क्रममा महिलाहरूले आफ्नो अनुभव आदानप्रदान गर्छन् र सामाजिक बन्धनलाई बलियो बनाउँछन्। विगतमा ब्राह्मण, कायस्थ आदि थोरै जातिका महिलाहरूले मात्र मनाउने यो पर्व अहिले सबै जातजातिका महिलाहरूले मनाउन थालेका छन्। यसले सामाजिक एकता र सहिष्णुतालाई प्रवर्द्धन गरेको छ। मधुश्रावणी पर्वले मिथिलाको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ। यसले दाम्पत्य जीवनको महत्व, पारिवारिक मूल्यमान्यता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्छ।
मधुश्रावणी पर्व मिथिलाञ्चलको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो। यसले नवविवाहित महिलाहरूलाई जीवनका नयाँ अध्यायका लागि आशीर्वाद दिन्छ र समाजमा सकारात्मक ऊर्जा फैलाउँछ।



