हजारौँ युवाको बलिदान अनि दिनहुँ फर्किने रातो बाकसमा टिकेको अर्थतन्त्र

विविध

सरकारले विप्रेषणको भरमा अर्थतन्त्र धानेको भन्दै अलापिरहँदा , यसको अर्को पाटो भने निकै डरलाग्दो छ । विदेशमा रोजगारीका नाममा ज्यान गुमाउने नेपाली युवाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक हजार ३४६ नेपाली युवाको विदेशमा मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । यो त आधिकारिक मात्र हो , अझै कतिपय चोर बाटो हुँदै रोजगारीमा गएका मध्ये कतिको मृत्यु भएर पनि सरकारी जानकारीमा नआएको हुनसक्छ ।

यस अवधिमा दैनिक औसतमा चार जना नेपालीको शव स्वदेश फर्किएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आवमा सात लाख ४३ हजार ५९५ नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । यस अवधिमा दैनिक औसतमा चार जना नेपालीको शव स्वदेश फर्किएको छ ।

सबैभन्दा बढी साउदी अरब, मलेसिया, कतार र युएईमा नेपालीको मृत्यु भएको छ । यसबाहेक दक्षिण कोरिया, कुवेत, इजरायल, बहराइन, रोमानिया, जापानलगायतका देशमा पनि नेपालीको ज्यान गएको छ ।

वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई सात लाख रुपैयाँ राहत दिने गरेको छ । तर, यो रकमले मृतकको क्षतिपूर्ति हुने कुरै भएन ।

विज्ञहरूका अनुसार पर्याप्त तालिम, सीप र सुरक्षाको ग्यारेन्टी नगरी युवालाई विदेश पठाइने प्रवृत्तिले यस्तो अवस्था आएको हो । सरकारले यस विषयमा गम्भीर भएर काम गर्नुपर्ने देखिन्छ । सरकारले विप्रेषणलाई टेकेर अर्थतन्त्र चलाउनुभन्दा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ । विदेशमा ज्यान गुमाउने युवाको सङ्ख्या बढ्दै जाँदा देशको जनशक्ति क्षयीकरण हुँदैछ । अझ दिनहुँ अन्तर्रस्त्रिया बिमानस्थलमा देखिने भिडले झन् डरलाग्दो दृश्यतर्फ ईशारा गरिरहेको छ । समयमै सरकारले विप्रेषणको मोह त्यागेर जनशक्ति पलायन रोक्न सुधारात्मक कदम नचाल्ने हो भने दीर्घकालीन रूपमा देशको विकासमा नकारात्मक प्रभाव पार्नेछ ।।