न्युरोड फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका-२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।
पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए ।
काठमाडौँ महानगरको प्रतिक्रिया
नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गरिएको कामपा सहरी योजना आयोगले जनाएको छ । विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको आयोगले जनाएको छ ।
मिश्रित आवासीय क्षेत्रमा १.८, मिश्रित व्यावसायिक क्षेत्रमा २.५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३.५ देखि ४.५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने कामपा सार्वजनिक निर्माण विभाले जानकारी दिएको छ ।
१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना रहेको र पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग नहुने विभागले जनाएको छ ।



