केपी शर्मा ओलीको काँधमा चौथो पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी

राजनीति

एमालेका अध्यक्ष केपी शर्मा ओलीको काँधमा चौथो पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी आएको छ । नेपालको ४५ औँ प्रधानमन्त्रीको रूपमा केपी ओलीले सपथ लिएका छन् ।

२०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री भएका थिए । वाकपटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका छन् ।

लामो समय जेलनेल भोगेका नेता ओली २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका हुन् । ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।

२०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । त्यस्तै उनले वि.सं. २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए ।

२०३० सालदेखि लगातार १४ वर्ष लामो यातनादायी काराबास भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गोलघरको कठोर जीवनबारे लेखेको स्मृति हो, यो । यसअघि झापा आन्दोलनका उनका पाँच सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । पोखरा जेलसारीको निहुँमा उनको पनि हत्या गर्ने प्रयास भएको थियो । तर, त्यसवेला ओली मुस्किलले बाँचे ।

२०३० असोज २३ गते रौतहटबाट पक्राउ गरी उनलाई वीरगन्ज जेलमा राखिएको थियो । वीरगन्जबाट काठमाडौंस्थित भद्रगोल जेल हुँदै केन्द्रीय कारागार ल्याइएको थियो । त्यसवेला अहिलेजस्तो विचार राख्ने र दल खोल्ने स्वतन्त्रता थिएन । राजनीतिक स्वतन्त्रता माग्नेलाई यसैगरी कैद गरिन्थ्यो र यातना दिइन्थ्यो । काराबासमा अत्यधिक यातनासाथ राखिएका नेतामध्ये ओली अग्रस्थानमा पर्छन् ।

केपी शर्मा ओली

२००८ फागुन ११ इवा २, तेह्रथुममा जन्म, माता–स्व. मधु ओली; पिता– मोहनप्रसाद ओली ।
२०२० झापामा बसाई सराइ
२०२३ माक्सवादी अध्ययन दलमा संगठित
२०२५ पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा संलग्न
२०२६ माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।
२०२७ जेठ ९ पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु ।
२०२७ फागुन १६ झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।
२०२८ झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।
२०३० असोज २३ राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ ।
२०३५ पुस ११ जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी) को संस्थापक नेताको हैसियत प्राप्त ।
२०४४ असार ११ जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।
२०४६ तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन ।
२०४७ जेठ १ पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष।
२०४७ पुस २२ नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।
२०४८ बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित
२०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटव्युरो सदस्य निर्वाचित
२०५१ मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त।
२०५१ पार्टी संसदीय विभागको प्रमुख
२०५४ माघ पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान।
२०५६ झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित
२०५६–२०५९ संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता
२०५९ माघ पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।
२०६३ गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुर्नस्थापित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त ।
२०६४ पहिलो संविधानसभाको निर्वाचनमा पराजित
२०६५–६६ केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख
२०६५ फागुन आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित ।
२०७० मंसीर झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित
२०७० माघ २१ तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ।
२०७१ साउन १ नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।
२०७२ असोज २४ व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते शपथ ग्रहण।
२०७३ साउन ९ व्यवस्थापिका–संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।
२०७३ साउन २० औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहाललाई सत्ता हस्तान्तरण ।
२०७४ फागुन ३ राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको रूपमा शपथ ।
३१ वैशाख २०७८ देखि २०७८ असार २९ सम्म तेस्रो पटक नेपालको प्रधानमन्त्री