अख्तियार आयुक्तले गुठीको जग्गा मिचेर घर बनाएपछि ललितपुरमा चल्यो डोजर

समाचार

गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।  ललितपुर १० चाकुपाटस्थित आयुक्त अमात्यले सम्पदाको जग्गा मिचेर बनाएको पाइएपछि महानगरले जग्गा खाली गराएको हो । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।मेयर महर्जनले स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको जानकारी दिए ।

उनका अनुसार महर्जन र अमात्य गुठीका पदाधिकारी पटक पटक महानगरसँग अनुरोध गर्न आएका थिए । उनीहरु लगातार जग्गा खाली गराइदिन भन्दै अनुरोधमा आएपछि भत्काउनुपरेको उनले बताए ।