काठमाडौं महानगरपालिको १५ औं नगरसभाको आज आइतबारको बैठक कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
बहिष्कारपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित गरेका छन् । उनले दोस्रो बैठक असार १० गते ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
मेयर शाहले आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।
उनले समय दिएलगत्तै कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरु नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो । आजको बैठकमा नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने बालेनको प्रस्तावलाई पारित गर्ने तयारी थियो ।



