प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताएका छन । आजवाट काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता बिआइएको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताएका हुन । प्रधानमन्त्री दाहालले नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको पनि बताए ।
प्रधानमन्त्री दाहालले जलविद्युत उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिवद्धता जनाउने उल्लेख गरे । विद्युत सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत निर्यात समझदारीमा हस्ताक्षर गरेको उनको भनाइ छ ।

