सेतो मच्छिन्द्रनाथका रथलाइ आज हनुमानढोकावाट लगन चोक पु¥याइने

समाचार

काठमाडौँमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्राको रौनकता छाएको छ । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथलाई दोस्रो दिन बुधबार काठमाडौँको असनबाट तानेर हनुमान ढोका पु¥याइएको छ । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई पहिलो दिन मंगलवार जमलबाट तानेर असन पु¥याइएको थियो । असनमा रहेको रथलाई तानेर बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै बुधबार हनुमान ढोका पु¥याइएको हो । रथयात्रामा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आज सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पु¥याइने छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ । रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको मानिन्छ ।