कोशीमा राष्ट्रिय सभा निर्वाचनको परिणामबाट सुरु भएको सत्ता गठबन्धन भित्रको खटपटलाई लिएर यतिवेला सत्ता गठबन्धन कै निरन्तरतालाई लिएर विभिन्न अडकलबाजीहरू भएका छन्।
पछिल्लो समयमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको राजनीतिक भेटवार्ता र संवादले त्यसलाई अझ तरङ्गित बनाउँदै लगेको छ।
विहानदेखि सुरु भएको सत्ता पक्ष र प्रतिपक्षी नेताहरूसँग प्रधानमन्त्रीको भेटवघाटले साँझसम्म निरन्तरता पाइरहेका छन्। दिनभर प्रमुख दलका नेताहरूबीच आन्तरिक छलफल, भेटघाट र दौडधूप बाँक्लिएको छ।
गठबन्धन भित्रको खटपट भन्ने समाचारका बीच प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले लगायतका दलहरूले सदनमा मन्त्रीको राजीनामा मागेर सदन अवरुद्धको चेतावनी दिएका वेला सत्ता साझेदार दलहरू विपक्षीको माग समेत संवादमा संशोधन हुने गरी मन्त्रीमण्डल पुनर्गठनमा जुटेको खबर पनि सत्यको नजिक छ।
गठबन्धन भित्रको वर्तमान अवस्था र मन्त्रीमण्डल पुनर्गठनका विषयमा कुरा गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो दलको तर्फबाट बनेका मन्त्रीहरूलाई निवास बुडानिलकण्ठमा बोलाएर छलफल गर्नु भएको छ।
छलफलमा दलका मन्त्रीहरूका साथै केही पदाधिकारीहरू समेत सहभागिता रहेको छ। “मन्त्रीमण्डल पुनर्गठनको विषयमा नै उहाँले छलफल गर्नु भएको हो। यस विषयमा थप छलफल र निर्णयमा लागि भोलि संसदीय दलको बैठक समेत बोलाइएको छ” – सभापति देउवा निकट स्रोतले भनिएको छ।
यसैबिच मन्त्रीमण्डल पुनर्गठनको प्रयास भइरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण पनि एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जानकारी दिएको छ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रम अनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले सूचनामा भनेको छ।
‘विषेश परिस्थितिमा कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रम अनुसार हेल्सिन्की प्रस्थान गर्न सकिएन’ परराष्ट्र मन्त्रालयले सूचना दिएको छ।
यसैबिच नेकपा माओवादी केन्द्रका नेताहरू पनि मन्त्रीमण्डल हेरफेरको सम्बन्धमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डले साँझ पार्टीका तर्फबाट बनेका मन्त्रीहरूसँग पार्टी पदाधिकारीहरूलाई बैठकमा बोलाएर मन्त्रीमण्डल पुनर्गठन र टिआरसी विधेयकका सम्बन्धमा प्रतिपक्षी दल र सत्तापक्षका नेताहरूसँग भएको छलफलको बारेमा जानकारी गराउनु छ। नेताहरूले प्रधानमन्त्रीले भोलि विहान गठबन्धनको बैठक बस्ने जानकारी समेत गराएको नेताहरूले बताउनु भयो।
यतिवेला नेताहरूको भेटघाटका मुल उद्देश्य के हो भन्ने एकिन गर्न जो कसैलाई पनि सहज भने छैन। किनकि एउटा मात्र विषय दलहरूको छलफलको विषय नभएर धेरै विषय यतिखेर सँगै उठेका छन्।
पहिलो, सत्तारुढ दलहरूबीच राष्ट्रिय सभाको अध्यक्षको लागि भएको दावी नेताहरूको व्यस्तता वढाउने मूल कारण हो भन्न सहजै सकिन्छ। नेपाली कांग्रेससँग सहमति मा राष्ट्रिय सभाको अध्यक्ष चयन हुने कुरा विश्वस्त छ भने माओवादी केन्द्रमा राष्ट्रिय सभाको अध्यक्ष लिनुपर्ने दवाव केन्द्रीय नेतृत्वलाई परिरहेको छ। कोशीमा राष्ट्रिय सभाको निर्वाचन हुँदा माओवादी केन्द्रका उमेद्वारको पराजय नै कांग्रेस र माओवादी वीचमा दरार ल्याउने मुख्य कारण भएको दुबै दलका नेताहरू स्वीकार्छन्।
दौडधूपको दोस्रो कारण हो – सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधयेक, जुन संसदीय समितिबाट सरकारले नै फर्काएको छ। यसमा प्रतिपक्षी दल एमाले पनि चलाखीपूर्ण रुपमा सत्तारुढ दलहरूबीचमा फाटो ल्याउन सकिन्छ कि भनेर लागेको राजनीतिका जानकारहरू बताउँछन्।
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो यो कार्यकालको सबैभन्दा पेचिलो विषय नै टिआरसी विधयेक हो जसलाई टुंग्याउन प्रधानमन्त्रीको कसरत निकै बढी देखिन्छ। त्यसैले गठबन्धन भित्र र बाहिर समानन्तर संवादमा हुनुहुन्छ प्रधानमन्त्री प्रचण्ड।
तेस्रो कारण हो – अहिले सुशासन कायम गराउन सरकारले चालेका पहल कदमी र सरकारमा रहेका मन्त्रीहरूको कतिपय विषयमा संलग्नता भएको भन्ने चर्चा। टेरामक्स खरिद प्रक्रियामा पूर्व तथा बर्तमान मन्त्री र मुख्य सचिव बैकुण्ठ अर्यालको संलग्नताको विषयले पनि सिंगो राजनीति र प्रशासनिक संयन्त्रमा खेलाबेला पारेको छ। यसलाई पनि दलहरू कसरी अघि बढाउने भन्ने आन्तरिक र अन्तरदलीय संवादमा छन्।
चौथो कारण तर अत्यन्त महत्वपूर्ण विषय हो नेपाली कांग्रेसको महासमितिले पारित गरेका प्रतिवेदनहरू, जसले वर्तमान गठबन्धनमा तरंग ल्याएको छ। यसले कांग्रेसको आन्तरिक जीवनमा कति फरक पार्ला भन्ने त छँदैछ, त्यो भन्दा बढी वर्तमान गठबन्धन र भावी चुनावी तालमेलको विषय पनि पेचिलो बनेको देखिन्छ।



