बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर सम्पन्न भएको छ ।
प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीले चलचित्र हेर्नुभयो ।
अध्यक्ष ओलीले चलचित्र हेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिनुभयो । “यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि यो चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताउनुभयो । “हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो । यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भन्नुभयो ।
प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियङ्का कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गर्नुभयो ।