कैलारीमा अस्पताल भवन निर्माण अन्तिम चरणमा

स्वास्थ्य-शिक्षा

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने संघीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।

दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिए । उनका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । ‘सकेसम्म चैतभित्र हस्तान्तरण गरेर चालु आर्थिक वर्षको मसान्तबाट अस्पताल चलाउने लक्ष्य रहेको छ,’ चन्दले भने ।

संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रुपैयाँ रहेको छ । अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।

यो अस्पताल सञ्चालनमा आएसँगै कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा ठूलो राहत हुने छ । अस्पताल नहुँदा जनता उपचारका लागि धनगढी वा प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुर र भारत पुग्ने गरेका छन् । यही वर्षबाट अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको वडाध्यक्ष विष्णुप्रसाद चौधरीले बताए ।

आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको उल्लेख गर्दै उनले थपे, ‘अस्पताल सञ्चालन भएमा जनतालाई स्वास्थ्योपचारमा धेरै सहज हुने छ ।’