दिल्लीमा प्रदीप गिरिको सम्झना

Uncategorized

कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको भारतमा प्रशस्तै राजनीतिक मित्र तथा शुभचिन्तक थिए । तिनै मित्र तथा शुभचिन्तकमध्ये केहीले उनको निधनपछि गहिरो सम्झाना गरेका छन् । उनीहरुले गिरिको राजनीतिक जीवन र योगदानको प्रशंसा तथा व्याख्या गरेका छन् ।

प्रदीप गिरि मित्र समाजले दिल्लीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेसका पुराना नेता कर्ण सिंहले गहिरो समवेदना प्रकट गरेका छन् । अस्वस्थता कारण कार्यक्रममा उपस्थित नभएपनि उनले पठाएको आफ्नो लिखित सन्देशमा गिरिसँग आफ्नो दशकौं पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै उनले गिरी बुद्धिजीवी रहेको उनीसँग वार्तालाप गर्दा आफूलाई सधैं आनन्द प्राप्त हुने गरेको उल्लेख गरेका छन् ।

जवाहरलाल विश्वविद्यालयमा विद्यावारिधिमा अध्ययनरत अम्बिका जोशीले समन्वय गरेर कन्स्टिच्युसन कल्ब अफ इन्डियमा शुक्रबार आयोजित गिरिको श्रद्धाञ्जली सभामा जनता दल युनाइटेडका जेनरल सेक्रेटरी केसी त्यागीले गिरि पार्टीको परम्पारगत ढाँचामा बाँधिन सक्ने नेता नरहेको उल्लेख गरे । गिरिलाई हरेक पार्टीका नेता र कार्यकर्ताले आफ्नै ठान्ने गरेको उनको प्रमुख विशेषत रहेको उनको भनाइ थियो ।

प्राध्यापक आनन्दकुमारले गिरिले जिएको जिन्दगी जस्तो सपना हरेक समाजिक राजनीतिक व्यक्तिहरुले देख्नुपर्ने उल्लेख गरेका थिए । उनले गिरि समाजवादी आन्दोलनको बलियो नेता रहेको बताउँदै उनको विचारको अनुसरणमा जोड दिएका थिए ।

कम्युनिस्ट नेता सीताराम यचुरीले प्रदीप गिरि कम्युनिस्ट र सोसलिस्टबीच एकताको पक्षधर नेता रहेको उल्लेख गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले गिरि समाजमा अवसरबाट बञ्चित व्यक्तिहरुका पक्षधर भएकै कारण संविधानसभाले २०७२ मा जारी गरेको संविधानमा उनले हस्ताक्षर समेत नगरेको बताए । कार्यक्रममा नेपालका लागि पूर्वराजदूत केभी राजन, रञ्जित रे, कांग्रेस नेता मोहन प्रकाश, जनार्जन द्विवेदी र वरिष्ठ पत्रकार जयशंकर गुप्ता लगायतले गिरिको सम्झनामा आफ्ना कुराहरु रखेका थिए ।