एक सशस्त्र प्रहरीसहित दुई जना जिउँदो सालकसहित पक्राउ

Uncategorized

जिउँदो सालकसहित प्रहरीले आज एक सशस्त्र प्रहरीसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडौँ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सालक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि दिउँसो १ बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचयपत्र बरामद भएको उनले जानकारी दिए ।

युरिया मलको ५० केजीको बोराभित्र प्लाइको बाकसमा जिउँदो सालक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ पारेका उनीहरुलाई थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ । उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोबाइललगायत विभिन्न सामग्रीहरु बरामद गरेको छ ।