मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन् । तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ ।
मौसमविद् वरुण पौडेलका अनुसार हिजो (बिहीबार) भन्दा आज र आजभन्दा भोलि पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना छ ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो । तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ ।

‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको उतारचढाव भनिन्छ, कुनै वर्ष मनसुन भित्रिने सुरुकै समयमा वर्षा बढी हुन्छ, कहिले बीचमा त कहिले अन्तिम समयमा ।’
उनका अनुसार यो कुनै अचम्मको कुरा होइन, नियमित प्रक्रिया नै हो ।
पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको उनले जानकारी दिए । उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ ।
सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ ।
यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए ।
‘तुलनात्मक रूपमा सुदूरपश्चिममा पानी कम परेको छ,’ उनले भने ।
उनका अनुसार पानी पर्ने क्रम आजदेखि नै कम हुने सम्भावना छ । ‘सुदूरपश्चिममा त आज घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने ।
तर अन्य प्रदेशमा आज दिउँसो र राति वर्षाको सम्भावना छ । कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
उनका अनुसार अहिले बिहान पनि प्रदेश १, २, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
