रातभर लाइन बसेर पीसीआर

विविध

लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ ।

ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् ।

सोमबार बिहान टेकुको गेट बाहिर पीसीआरका लागि टिकट काट्न पालो पर्खिएकाहरुको करिव एक किलोमिटर लामो भीड थियो । उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए । गेटभित्र छिर्न पाएकाहरुमा पनि पीसीआर परीक्षणका लागि बसिरहेकाहरुको लाइन पनि उत्तिकै लामो थियो । ज्वरो जाँच गराएपछि मात्र पीसीआर परीक्षणका लागि पठाइने गरिन्छ ।

टेकुमा स्वाब दिन मात्र होइन, पीसीआर परीक्षणको रिपोर्ट लिन पुग्नेहरुको लाइन पनि चक्मा दिने खालको थियो ।

फिवर क्लिनिककी एकजना कर्मचारीले भनिन्, ‘अस्तिसम्म त्यति ठूलो भीड थिएन । आजबाट भने अत्याधिक नै बढेको छ ।’

पीसीआर परीक्षण गर्न आएका कसैलाई ज्वरो देखिएको अवस्थामा सिधै इमरजेन्सीमा पठाउने गरेको पनि उनले जानकारी दिइन् । सिटामोल खाएर आउने भएकाले पनि परीक्षण गर्न आउनेहरुमा त्यति ज्वरो नदेखिएको उनको भनाइ छ ।

टेकुमा सोमबार काठमाडौं बाहिरबाट आएका तीन हजारभन्दा बढी मानिसहरु पीसीआर परीक्षण गराउन पुगेका थिए । तर, उक्त लाइनमा पहाडी भेगका मानिसको अनुहार खासै देखिँदैनथ्यो । एकाध बाहेक सबै मधेसबाट आएकाहरु थिए । उनीहरु लक्षण देखिएर भन्दा पनि घरबेटीले दुःख दिएका कारण परीक्षण गर्न पुगेका थिए ।

भीड देख्दा यस्तो लाग्थ्यो, संक्रमण नभएकाहरु पनि यहाँबाट पक्कै कोरोना लिएर घर फर्किनेछन् । लाठी लिएर बसेका गार्डहरुलाईसमेत लाइनमा घचेटाघचेट गरिरहेकाहरुलाई नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको थियो ।