वीर अस्पताल लास काण्ड, यथार्थ घटना के हो? ?

विविध

‘हन्ड्रेड समूह’मा सक्रिय बब्लु गुप्ताले मंगलबार करिब साढे दस बजेतिर वीर अस्पताल अघिबाट फेसबुकमा लाइभ सुरु गरे । उनको लाइभमा बुटवल घर बताउने एक महिला, उनकी छोरी र अन्य आफन्तहरुको आक्रोश र रोदन कैद भइरहेको थियो ।

बुटवल घर बताउने महिलाले सात वर्षदेखि केन्द्रिय कारागारमा थुनामा रहेका श्रीमान बिरामी भएको भन्ने खबर गत शनिबार पाएपछि आफूहरु काठमाडौं आएको बताइरहेकी थिइन् । तर, आफूहरु आएपछि श्रीमान रामलखन जैसवालको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको खबर पाएको बताइन् ।

सोही भिडियो लाइभमा रामकी छोरीले उनीहरुलाई मृतकको शव हेर्न नदिएपछि जबरजस्ती झ्यालबाट घोचो छिराएर शव ढाकिएको कपडा हटाएर भिडियो खिचेको र उक्त भिडियोमा प्रष्टसँग बाबुको हत्या गरिएको प्रमाणहरु देखिएको दाबी गरिरहेकी थिइन् । छोरीसँगै देखिएका एक वयस्क व्यक्तिले मृतकको दुवै आँखा निकालिएको, घाँटी र हातमा पोलेको दाग देखिएकाले हत्याको घटना लुकाउन अस्पताल र जेल प्रशासनले कोरोनाको बहाना बनाएको बताइरहेका देखिन्छन् । बब्लुले गरेको लाइभलाई अन्य कैयौं फेसबुक पेजले पनि सेयर गरेका छन् ।

रामलखन जैसवालको मृत्यु षड्यन्त्रपुर्वक भएको, परिवारलाई गुमराहमा राख्न खोजिएको र हत्यापछि भएको मृत्यु लुकाउन कोरोना भनिएको भन्ने खालका अन्य दर्जनौं भिडियो सामाग्रीहरु पनि युट्युबमा देखिन्छ । यही घटनाबारे ओटीभी नामक नामक युट्युब च्यानलले ‘ओ माई गड’ भन्दै ‘कोरोना अस्पतालमा जिउँदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र श्रीमतीको रुवाबासी, तोडफोड’ शीर्षकमा भिडियो सार्वजनिक गरेको छ ।

मंगलबार साँझसम्म यो घटनाबारे दर्जनौं युट्युब च्यानलले सनसनीपूर्ण थम्बनेलसहितको भिडियो बनाएका छन् । जसको लाखौं भ्युअर्स देखिन्छन् ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कर्तव्य ज्यानको मुद्दामा थुनामा रहेका जैसवाल साढे आठ वर्षयता कारगारमा रहेको बताए । उनले जैसवालको साढे ११ वर्ष कैद भुक्तान बँकी रहेको समयमा शनिबार राति ९ बजेर ४५ मिनेटमा श्वासप्रश्वासमा गाह्रो भएपछि कारागारभित्रैको अस्पतालमा लगिएको बताए । जेलर बाँस्कोटाका अनुसार अस्पतालले थप उपचारका निम्ति सिफारिस गरिएपछि राति नै वीर अस्पताल पुर्‍याएको तर, अस्पतालले राति १० बजेर ५५ मिनेटमा बिरामीको मृत्यु भएको सूचना दिएको जानकारी दिए । उनले मृतक जैसवाल दीर्घरोगी हुनुका साथै पार्किन्सन्सका बिरामी रहेको दाबी गरे । उनका अनुसार जैसवालको मृत्युपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार राति आएको र त्यसमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलबाट काठमाडौं आएका परिवारले मृतकको शव देखेपछि त्यसबारे प्रश्न गर्न बिहान आफू कहाँ आएको पनि जेलर बाँस्कोटाले बताए । उनले भने, ‘परिवारका मान्छेले मृत्युबारे शंका गरेपछि मैले जेल भित्रको र अस्पताल लैजाँदाको सबै सीसीटिभी फुटेज झिकाएर हेरें । तर, त्यसमा परिवारका सदस्यले भनेजस्तो केही देखिएन ।’ मृतकका परिवारले शवमा निलडाम देखिएको, आँखा झिकिएको र घाँटीमा दाग भएकाले हत्या भएको शंका आफूसँग व्यक्त गरेको जेलर बाँस्कोटाले बताए ।

उनले आफूले सीसीटिभी फुटेज जुम गरेर हेर्दा पनि अस्पताल लैजाने बेलामा परिवारका सदस्यले भनेजस्तो केही नदेखिएको बताए । उनले परिवारका सदस्यले चाहेको खण्डमा आफूले फुटेज देखाइदिने बताए । जेलर बाँस्कोटाले परिवारका सदस्यको कुरा सुनेपछि आफूले एक प्रहरी पठाएर शव हेर्न लगाएको तर बाहिर भनिएजस्तो घाँटीमा दाग र आँखा निकालिएको अवस्था नरहेको दाबी गरे ।

वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भने शनिबार राति ल्याउँदा नै बिरामीको मृत्यु भइसकेको र कोरोना परिक्षणको रिपोर्ट नआउन्जेलका लागि शवलाई अस्पतालको शवघरमा राखिएको बताए । वीर अस्पतालको शव घरमा फ्रिज नभएकाले अस्पतालले बन्द कोठामा शवलाई खुला नै राखेको थियो । कोरोना संक्रमण सुरु हुनुअघिसम्म वीरले मृतकको शव राख्नै पर्ने भए टिचिङ अस्पतालको शव घरको फ्रिजमा राख्न पठाउँथ्यो ।

निर्देशक सेन्चुरीले फ्रिजमा नराखिएका कारण गर्मीले शव केही बिग्रिएको र शव धेरै दिन बाहिर राख्दा आँखा लगायतका भागबाट रगतजस्तो तरल पर्दाथ आउनु असामान्य नभएको जानकारी दिए । ‘मृतकका परिवारको गुनासो आएपछि मैले कर्मचारीलाई शव ओल्टाई पल्टाई गरेर हेर्न पनि पठाए । तर त्यस्तो शंकास्पद केही भेटिएन,’ उनले भने ।

शव पोष्टमार्टमका लागि मंगलबार साँझ टिचिङ अस्पताल लगिएको मृतक रामलखनका भतिजा शिवजैसवालले जानकारी दिएका छन् । मंगलबार साँझ वीर अस्पतालका निर्देशक सेन्चुरीले एक विज्ञप्ति प्रकाशित गर्दै ‘केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएकोजस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थ नभएको जानकारी गराइन्छ’ भनेका छन् ।