काठमाडौं, ६ मंसिर । यहि मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि शुक्रबारदेखि ओलम्पिक टर्च र्याली शुरु भएको छ ।
काठमाडौंबाट सुरुभएको टर्च र्याली देशका विभिन्न भागमा ओलम्पिक टर्च घुमाएर उद्घाटनका दिन १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याएर दिप प्रज्वलन गरिने छ । टर्च र्याली पहिलो दिन काठमाडौंबाट विराटनगर पुर्याइने छ । दोस्रो दिन विराटनगरबाट धनुषा, तेस्रो दिन हेटौडाहुँदै चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल र पाँचौं दिन सुर्खेत पुर्याएर नेपालगञ्ज लगिने कार्यक्रम रहेको छ ।
यसैगरी टर्च र्याली छैटौं दिन धनगढी पुग्ने र सातौं दिन धनगढीबाट पोखरा ल्याइने छ । आठौं दिन पोखराबाट काठमाडौं ल्याइने छ र प्रतियोगिताको उद्घाटनका दिन मंसिर १५ गते अपरान्ह बजे दशरथ रंगशाला प्रवेश गर्ने छ । ओलम्पिक टर्च र्यालीकोे जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लिएको छ । टर्च र्यालीमा १३ जना सहभागी हुने छन् ।

