श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते, थप उपचारका लागि काठमाडौँ पठाइयो

विविध

श्रीमतीको खुकुरी प्रहारबाट घाइते भएका श्रीमानलाई थप उपचारका लागी काठमाण्डौ लगिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलु बस्ने २६ वर्षिया भरत चौलागाईलाई श्रीमती २४ वर्षिया अप्सरा चौलागाईले आज बिहान साँढे ६ बजे खुकुरी प्रहार गरेकी थिइन् ।

खुकुरी प्रहारबाट चौलागाईको घाटीको दाहिने पट्टि गम्भिर चोट लागेपछि उपचारका लागी प्राथमीक स्वास्थ्य केन्द्र÷प्रस्तावित चरिकोट अस्पताल ल्याइएको थियो । तर उपचार सम्भव नभएपछि घाइते चौलागाईलाई आज बिहान करिव साँढे ११ बजे थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ट्रमा सेन्टर पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमतीलाई खुकुरी सहित जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । घरायसी विवादमा खुकुरी प्रहार भएको पाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।