पर्साको वीरगञ्जस्थित सिर्सिया नदी किनारमा आधुनिक शवदाह स्थल निर्माण हुने भएको छ । वीरगञ्ज– १३ स्थित रामजानकी मठ नजिकै सिर्सिया नदी किनारमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।
अहिले विश्वभरी कोरोना भाइरस संक्रमणको महामारी फैलिएको छ जसका कारण ज्यान गुमाउनेहरुको संख्या बढीरहेको अवस्थामा मृतकको शव व्यवस्थापनमा विभिन्न समस्या निम्तिरहेका छन् । यस्ता समस्या समाधानमा सामुदायिक शवदाह स्थल उपयोगी हुने विश्वास गरिएको छ ।
कोराना संक्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने क्रममा पटक पटक स्थानीय र प्रहरीबीच झडप समेत हुनेगरेका छन् । जस्तोसुकै अवस्थामा मानिसको मृत्यु भएपनि धार्मिक परम्पराअनुसार ससम्मान अन्तिम संस्कार गर्न पाऊन् भन्नका लागि सामुदायिक शवदाह स्थल बनाउन लागिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

उहाँले रामजानकी मन्दिर छेउमा ४४ कठ्ठा ऐलानी जमिन रहेको र वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा त्यहाँ शवदाह स्थल बनाउने निर्णय गरेको पनि बताउनुभयो । वीरगञ्ज– ११ का वडाध्यक्ष प्रधुम्न सेढाईं, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अन्सारी लगायतले पनि शवदाह स्थल निर्माण क्षेत्रको अवलोकन गरेका छन् ।
