पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने

विविध

कोरोना भाइरसविरुद्धको पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने भएको छ।

ती पाँच वटा भ्याक्सिन अन्तिम चरणको मानव परीक्षणको क्रममा छन्। जसमध्ये रुसको गेमिलियाद्वारा विकास गरिएको भ्याक्सिन उक्त देशमा अनुमोदन भई सेम्टेम्बर महिनामै प्रयोगमा ल्याइने टुंगो लागिसकेको हो।

गेमिलिया निर्मित स्पुतनिक भी भ्याक्सिन यसै हप्ता सर्वसाधारणका लागि प्रयोगमा ल्याइने भएको छ। यसको अन्तिम तयारी भइसकेको छ। भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको अध्ययन ल्यान्सेट जर्नलमा प्रकाशित भइसकेको छ। तथ्यांकले उक्त भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको छ।

स्पुतनिक भी नामको भ्याक्सिन साउदी अरेबिया, युएई, ब्राजिल, फिलिपिन्सलगायतका देशहरुमा ४० हजार स्वयंसेवीमाथि परीक्षण भइरहेको छ।

अन्तिम अर्थात् तेस्रो चरणको मानव परीक्षणको क्रममा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, ब्रिटेन र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, अमेरिकाको मोर्डना र फाइजर बायोनटेक यसै वर्ष अनुमोदन गरी प्रयोगमा ल्याउने क्रममा छन्।

ती भ्याक्सिनको प्रयोग २०२० को अन्तसम्ममा गर्ने योजनाका लागि तयारी भइसकेको छ।

अक्सफोर्ड र मोर्डना भ्याक्सिन उत्पादन नहुँदै कतिपय देशले चासो बढाइसकेका छन्। भ्याक्सिनको पहुँचका लागि लबिङ शुरु भइसकेको छ। चीनको भ्याक्सिन जोखिममा काम गर्ने स्वास्थ्यकर्मीका लागि प्रयोगको अनुमती दिइसकिएको छ।

अहिले विश्वभर एक सय ७५ वटा भ्याक्सिन विकासको चरणमा छन्। जसमध्ये ३३ वटा मानव परीक्षणको क्रममा छ।

अक्सफोर्ड भ्याक्सिन प्रभावकारी भ्याक्सिनको अग्रपंक्तिको दौडमा छ। यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा भइरहेको छ।

भारतमा कोभिशिल्ड दोस्रो र तेस्रो चरणको मानव परीक्षणको क्रममा छ। भारतको १७ स्थानमा १६ सय स्वयंसेवीमाथि यसको परीक्षण भइरहेको छ। यो पुणास्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरिरहेको छ।

फाइजर कम्पनिको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको नतिजा डाटा अक्टोबर महिनाभित्र आइसक्नेछ। त्यसपछि २०२० भित्र नै यसलाई प्रयोगमा ल्याउने गरी तयारी भइरहेको छ।

अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन तेस्रो चरणको परीक्षण १३ हजार स्वयंसेवीमाथि गरिरहेको छ। उसले प्रत्येक भ्याक्सिनको मूल्य समेत ६० डलर हरेक कोर्सका लागि पर्ने गरी योजना बनाइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोर्डना भ्याक्सिन १० करोड डोज भ्याक्सिन खरिद गर्ने घोषणा गरिसकेका छन्।

यसैगरी, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि, अष्ट्रेलियाको मुरडक्ट्सको चिल्ड्रेन रिसर्च इन्स्टिच्युटका भ्याक्सिन पनि परीक्षणको क्रममा छन्।