अमेरिकाद्वारा ईरानको हतियार प्रणालीमा साइबर हमला, ईन्टरनेट प्रणालीमा आक्रमण

विविध

एजेन्सी, ८ असार । अमेरिकाले इरानको हतियार प्रणालीमा साइबर–हमला सुरु गरेको जनाइएको छ ।अन्तराष्ट्रिय संचार माध्यमका अनुसार इरानमाथिको हवाई आक्रमण अन्तिम समयमा आएर राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेपछि साइवर आक्रमण सुरु गरिएको जनाइएको छ । हवाइ आक्रमणको बदलामा अमेरिकाले इरानको हतियार सम्बन्धी इन्टरनेट प्रणालीमा साइबर आक्रमण सुरु गरेको हो । रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले साइबर आक्रमण गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।अमेरिकी गुप्तचर ड्रोनलाई इरानले खसालेको तथा गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथिको आक्रमणको बदला स्वरुप अमेरिकाले साइबर आक्रमण गरेको हो । गल्फ अफ ओमानमा ट्यांकरमाथि भएको आक्रमणमा अमेरिकाले इरानलाई दोष लगाएको छ तर इरानले त्यसको प्रतिवाद गर्दै आएको छ । यस्तै अमेरिकाले इरानमाथिको प्रतिबन्ध थप गरेको छ ।इरानले परमाणु हतियार बनाइरहेको र त्यसलाई नियन्त्रण गर्नका लागि उसमाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।