काठमाडौं उपत्यकामा आज ३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा ३१ जनामा कोरोना भाइरस परिक्षण देखिएको बताएका हुन्। उनका अनुसार आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललिपुरका ४ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरको एक जना, स्टार अस्पतालको परिक्षणमा ललितपुरका ३ जना, प्रहरी अस्पतालको परिक्षणमा काठमाडौंको २ जना यस्तै वीर अस्पतालको परिक्षणमा काठमाडौंको एक जना र नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरको एक जनामा कोरोना देखिएको बताइएको छ। यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ। त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै, आइतबार एक सय ११ जना डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ छ।
