खनिजजन्य बस्तुको उत्खनन्का लागि बजेटको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

विविध

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तथा खनिजजन्य बस्तुहरुको अन्वेषण र उत्खनन्का लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।शुक्रवारदेखि राजधानीमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्सपोमा प्रधानमन्त्री ओलीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् नै खनिज तथा खनिजजन्य बस्तुहरुको पर्याप्त निर्यात हुने गरी खोज, अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा सुन, फलाम र तामाखानीलाई आधुनिकीकरणको माध्यामबाट उत्खनन् गरी मुलुकको निर्यात व्यापारमा सुधार ल्याउने सरकारको योजना रहेको उल्लेख गर्नुभयो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा आयोजित ३ दिने एक्स्पोमा नेपाली गरगहनाको मौलिकता, विविधता र विशिष्टता झल्कने खालका स्टलहरु राखिएका छन् ।