नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

आर्थिक

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको नयाँ दिल्लीमा सम्पन्न राजकीय भ्रमणका क्रममा नेपाल–भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ।

एसोसिएसनले नोभेम्बर २२–२३, २०२६ मा सम्पन्न भ्रमणका क्रममा पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारसम्बन्धी सहमतिहरू नेपालको वैदेशिक व्यापार र समग्र आर्थिक विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

एसोसिएसनका अनुसार भारतको गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह तथा आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसमेत प्रयोग गर्न सकिने घोषणाले नेपालको तेस्रो मुलुकसँगको अन्तर्राष्ट्रिय व्यापारमा थप सम्भावना सिर्जना गर्नेछ।

यसबाट नेपालले समुद्री बन्दरगाहका थप विकल्प प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापारका लागि वैकल्पिक पारवहन मार्ग उपलब्ध हुने र भविष्यमा ढुवानी समय, लागत तथा आपूर्ति व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने एसोसिएसनको अपेक्षा छ। उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा पारवहन सन्धिको प्रोटोकल संशोधन प्रक्रिया शीघ्र सम्पन्न गर्नुपर्नेमा पनि एसोसिएसनले जोड दिएको छ।

त्यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा र नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई एसोसिएसनले दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्वपूर्ण मानेको छ।

रेलमार्ग विस्तारले ठूलो परिमाणमा मालसामान ढुवानी सहज बनाउनुका साथै सडक यातायातमाथिको निर्भरता घटाउन, ढुवानी लागत न्यूनीकरण गर्न र नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उसको विश्वास छ।

यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले नेपालको हवाई कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने एसोसिएसनले जनाएको छ। यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै भविष्यमा हवाई कार्गो तथा व्यापारिक गतिविधि प्रवर्द्धनका लागि समेत अनुकूल वातावरण बन्न सक्ने उल्लेख गरेको छ।

एसोसिएसनले यी सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर सिर्जना हुनुका साथै लजिस्टिक्स लागत घटाउन, व्यापार प्रक्रिया सरल बनाउन, निर्यात प्रवर्द्धन गर्न, औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन र वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न योगदान पुग्ने जनाएको छ।

सहमतिहरूलाई व्यवहारमा उतार्न नेपाल सरकार तथा सम्बन्धित निकायले आवश्यक नीतिगत, कानुनी र प्राविधिक प्रक्रिया समयमै अघि बढाउनुपर्ने एसोसिएसनको भनाइ छ। साथै, विद्यमान पारवहन प्रक्रियालाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन तथा कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्या समाधान गर्न निजी क्षेत्र र सम्बन्धित सरोकारवालासँग समन्वय तथा परामर्श गर्न पनि उसले आग्रह गरेको छ।