काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगबीच शिष्टाचार भेट भएको छ।
भेटका क्रममा सभामुख अर्यालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कोरियाबीच मैत्रीपूर्ण तथा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले कोरियालाई नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा चित्रण गरे।
सभामुख अर्यालले पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। साथै, नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत पार्कसँग आग्रह गरे।
उनले हालै नेपालमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग र कोरियाली विपद् प्रतिकार्य टोली (KDRT) परिचालन गरेकोमा धन्यवाद व्यक्त गरे। विपद्का क्रममा सम्पर्कविहीन भएका कोरियाली नागरिकका परिवारप्रति पनि उनले समवेदना प्रकट गरे।
त्यसैगरी, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) मार्फत शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संसाधन विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गर्दै सभामुख अर्यालले जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रमा कोरियाली लगानी विस्तारको सम्भावना रहेको बताए।
रोजगार अनुमति प्रणाली (EPS) मार्फत नेपाली युवालाई रोजगारीका अवसर उपलब्ध गराएकोमा कोरियाली सरकारप्रति आभार व्यक्त गर्दै उनले दुई देशबीच पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
भेटमा राजदूत पार्कले नेपालमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताए। उनले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।



