काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि बजारमा कारोबार रकम घटेको छ । सोमबार नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन शुक्रबार नेप्से सामान्य अंकले घटेको थियो ।
परिसूचक बढे पनि बजारमा सबै क्षेत्रको प्रदर्शन सकारात्मक रहेन । कारोबारमा आएका १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढ्दा नौवटाको घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूह सामान्य बढेका छन् । निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ ।
सोमबार ३६० कम्पनीका १ करोड ८ लाख २६ हजार कित्ता शेयर ४२ हजार ८५४ पटक किनबेच भएका छन् । यसबाट ३ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशत बढेको छ । माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी र बुंगल हाइड्रोको करिब साढे ५ प्रतिशत बढेको छ । यसको विपरीत भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ८.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । लक्ष्मी सनराइज बैंकको करिब १३ करोड र एनआईसी एसिया बैंकको साढे १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १.५१ अंक, फ्लोट इन्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंक बढेका छन् । समग्रमा परिसूचकमा सामान्य सुधार आए पनि घट्ने उपसमूहको संख्या बढी रहनु र कारोबार रकममा कमी आउनुले बजारमा एकरूपता नदेखिएको संकेत गर्छ ।



