नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित

मनोरंजन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले चलचित्र संघलाई नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्था भन्दै यस क्षेत्रको विकासका लागि संघबाट धेरै कुरा सिक्न र त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । चलचित्र हल व्यवसायीहरूले भोग्दै आएका समस्या तथा चुनौतीलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । हल व्यवसायको संरक्षण, आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम ल्याउन आवश्यक छ । यसका लागि चलचित्र विकास बोर्डले चलचित्र संघसँग सहकार्य गर्दै सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग आवश्यक पहल गर्नेछ ।’

नेपाली चलचित्र निर्माण गरेर मात्र नहुने भन्दै उनले चलचित्रलाई दर्शकमाझ पु¥याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको धारणा राखे । नेपाली चलचित्रलाई आफ्नो पर्दामा स्थान दिई दर्शकको अनुभवलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने सम्पूर्ण हल सञ्चालक तथा प्रदर्शक व्यवसायीप्रति उनले आभार व्यक्त गरे ।

अध्यक्ष पण्डितले यस वर्षदेखि नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने चलचित्र हलहरूलाई चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेको जानकारी दिए । नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।

उनले भने, ‘नेपाली चलचित्र निर्माण गरेर मात्र हुँदैन, त्यसलाई दर्शकमाझ पुर्याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि हो। नेपाली चलचित्रको व्यावसायिक सफलतामा हल सञ्चालकहरूको योगदान महत्त्वपूर्ण छ । त्यसैले यस वर्षदेखि नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने चलचित्र हलहरूलाई चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेका छौँ। यसको उद्देश्य नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु पनि हो ।’

त्यसैगरी, चलचित्र हल व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका समस्या तथा चुनौतीप्रति बोर्ड गम्भीर रहेको उनले बताए । हल व्यवसायको संरक्षण, पुराना हलहरूको आधुनिकीकरण, नयाँ लगानी आकर्षित गर्ने तथा व्यवसायीलाई सरकारी सहुलियत उपलब्ध गराउने विषयमा सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग पहल भइरहेको उनले जानकारी दिए ।

सरकारले चलचित्र हल सञ्चालकहरूको योगदानको उचित मूल्याङ्कन गर्दै उद्योगलाई आवश्यक सुविधा, प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले यस विषयमा चलचित्र विकास बोर्डले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै अध्यक्ष पण्डितले चलचित्र विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताए । मन्त्रालयलगायत सम्बन्धित निकायको सहयोग प्राप्त भएकाले निर्धारित समयभित्र विधेयक पारित गरी यथाशीघ्र ऐनका रूपमा कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘यो विषयमा हामीले लबिङ गर्न थालिसकेका छौँ । अहिले हामी विधेयकमा बसिराखेका छौँ। सोमबारबाट सुरु भएर हामी ६० दिनमा चाहिँ विधेयक पारित गर्ने टाइमलाइन राखेर अगाडि बढिसकेका छौँ। मन्त्रालय, सबैजनाको साथ हामीले पाएका छौँ यसपालि । र यो ६० दिन भित्र नै हामी यो विधेयकलाई पास गरेर सकेसम्म चाँडै ऐनमा लाने काम गर्दैछौँ अहिले ।’

उनले चलचित्र हल व्यवसायीहरूले उठाएका जायज मागलाई नीतिगत तहसम्म पु¥याएर सम्बोधन गर्न बोर्डले आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट पारे । चलचित्र संघसँग सहकार्य गर्दै हल व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पहल गरिने पनि उनले बताए ।