लगातार तेस्रो पटक एनपीएल फाइनलमा सुदूरपश्चिम, चितवनमाथि ३ विकेटको रोमाञ्चक जित

Headlines खेलकुद समाचार

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो संस्करणमा फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमले एक बल बाँकी छँदै जित निकालेको हो ।

सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायके नायक बने । उनले ५३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए । कप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा २३ रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे । विनोद भण्डारीले २३ रन जोडे ।

इशान पाण्डे र उसामा मिरले समान १० रन बनाए । आरिफ शेखले पनि १० रन जोडे । जर्ज मुन्सेले ८ रन बनाउँदा अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन् ।

चितवनका रन्जित कुमारले दुई विकेट लिए । कमलसिंह ऐरी, सलाउद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाउँदै अविजित रहे । उनले ५१ बलमा ९ चौका र दुई छक्का प्रहार गरे ।

सलाउद्दिन खानले १८ रन बनाए । कमलसिंह ऐरीले १० रन जोड्दा देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३ र उसामा मिरले २ रन बनाए । कप्तान रवि बोपारा र कुशल मल्ल समान एक रनमा आउट भए ।

सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए ।

यस जितसँगै सुदूरपश्चिमले एनपीएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने एक्लो टोलीको कीर्तिमान बनाएको छ । अब उसले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए ।

पहिलो पटक क्वालिफायरमा पुगेको चितवन भने सुदूरपश्चिमसँग पराजित भएपछि उपाधि दौडबाट बाहिरिएको छ ।