चार महिनामा ४९७ परियोजना स्वीकृत, लगानी १९ अर्ब ५५ करोडमा सीमित; रोजगारीको प्रतिबद्धता ८२ प्रतिशतले घट्यो
काठमाडौं । नेपालमा विदेशी लगानीका परियोजनाको संख्या बढे पनि लगानीको आकार र रोजगारी सिर्जनाको प्रतिबद्धता भने तीव्र रूपमा घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिभन्दा ११५ वटा बढी परियोजना स्वीकृत भए पनि लगानी प्रतिबद्धता १७ अर्ब १३ करोड रुपैयाँले घटेको छ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीका ४९७ परियोजना स्वीकृत भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३८२ परियोजना स्वीकृत भएका थिए। परियोजनाको संख्या ३०.१ प्रतिशतले बढ्दा लगानी प्रतिबद्धता भने ३६ अर्ब ६८ करोड रुपैयाँबाट घटेर १९ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ। यो ४६.६ प्रतिशतको गिरावट हो।
परियोजनाको संख्या बढे पनि लगानीको प्रतिबद्धता घट्नुले स्वीकृत परियोजनाको औसत आकार सानो हुँदै गएको देखाउँछ। यसले विदेशी लगानीको आकर्षण परियोजनाको संख्यामा देखिए पनि ठूलो पुँजी परिचालन र आर्थिक गतिविधि विस्तारको प्रतिबद्धतामा अपेक्षित सुधार नभएको संकेत गर्छ।
रोजगारी सिर्जनाको प्रस्तावमा पनि ठूलो गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा स्वीकृत परियोजनाबाट ३३ हजार ८१४ जनालाई रोजगारी दिने प्रतिबद्धता आएकोमा चालु वर्षको सोही अवधिमा ६ हजार २०१ जनालाई मात्रै रोजगारी दिने प्रस्ताव छ। यो अघिल्लो वर्षको तुलनामा ८१.७ प्रतिशत कम हो।
अर्थात् परियोजनाको संख्या बढ्दा पनि त्यसबाट सिर्जना हुने भनिएको रोजगारी भने झन्डै पाँच गुणाले घटेको छ। लगानी प्रतिबद्धता र रोजगारी दुवैमा आएको गिरावटले परियोजनाको संख्या मात्रैका आधारमा विदेशी लगानीको अवस्था मूल्यांकन गर्दा वास्तविक तस्वीर नदेखिने बनाएको छ।
कात्तिकमा लगानी प्रतिबद्धता बढ्यो, रोजगारी घट्यो
चार महिनाको समग्र तथ्यांक कमजोर देखिए पनि कात्तिक महिनामा भने विदेशी लगानी प्रतिबद्धता बढेको छ। चालु आर्थिक वर्षको कात्तिकमा ८५ परियोजनाका लागि ३ अर्ब ४२ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। गत वर्षको कात्तिकमा ७१ परियोजनाका लागि १ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो।
एक वर्षमा कात्तिक महिनाको लगानी प्रतिबद्धता १२१.८ प्रतिशतले बढेको छ भने परियोजनाको संख्या १९.७ प्रतिशतले वृद्धि भएको छ। तर, रोजगारी सिर्जनाको प्रस्ताव भने घटेको छ। गत वर्ष कात्तिकमा स्वीकृत परियोजनाबाट १ हजार ७०२ जनालाई रोजगारी दिने प्रस्ताव आएकोमा यस वर्ष ५३२ जनामा सीमित भएको छ।
सूचना प्रविधिमा धेरै परियोजना, लगानी पर्यटनमा केन्द्रित
क्षेत्रगत रूपमा हेर्दा परियोजनाको संख्यामा सूचना प्रविधि क्षेत्र अगाडि छ भने लगानी रकमका आधारमा पर्यटन क्षेत्र पहिलो स्थानमा छ।
पहिलो चार महिनामा सूचना प्रविधिसम्बन्धी २७२ परियोजना स्वीकृत भएका छन्। यो कुल परियोजनाको ५४.७ प्रतिशत हो। तर, यस क्षेत्रमा ९७ करोड ९६ लाख रुपैयाँ मात्रै लगानी प्रतिबद्धता आएको छ। कुल लगानीको करिब पाँच प्रतिशत मात्रै सूचना प्रविधिमा प्रस्ताव गरिएको छ।
परियोजनाको संख्याका आधारमा दोस्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा १४६ परियोजना स्वीकृत भएका छन्। कुल परियोजनाको २९.४ प्रतिशत हिस्सा ओगट्ने यस क्षेत्रमा ८ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यो कुल लगानीको करिब ४४ प्रतिशत हो।
सेवा क्षेत्रमा ४४ परियोजनाका लागि ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा २९ परियोजनाका लागि १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ।
ऊर्जा क्षेत्रमा तीनवटा परियोजना मात्रै स्वीकृत भए पनि ४ अर्ब ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। परियोजनाको संख्या थोरै भए पनि लगानी रकमका आधारमा ऊर्जा क्षेत्र दोस्रो स्थानमा छ।
कृषि तथा वनजन्य क्षेत्रमा तीन परियोजनाका लागि १५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ। खनिज र पूर्वाधार क्षेत्रमा भने पहिलो चार महिनामा कुनै परियोजना स्वीकृत भएका छैनन्।
विदेशी लगानीकर्ताको भिसा सिफारिस पनि घट्यो
विदेशी लगानीकर्तालाई नेपाल आउन उद्योग विभागले गर्ने व्यावसायिक भिसा सिफारिस पनि उल्लेख्य घटेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीकर्ताका लागि ७७१ वटा व्यावसायिक भिसा सिफारिस गरिएकोमा चालु वर्षको सोही अवधिमा १७९ वटा मात्रै सिफारिस भएको छ।
त्यस्तै, विदेशी लगानीकर्ताका प्रतिनिधिका लागि गरिएको भिसा सिफारिस १२२ बाट घटेर ११२ भएको छ। उनीहरूका परिवारका सदस्यका लागि गरिएको सिफारिस पनि २२५ बाट घटेर १८३ मा झरेको छ।
परियोजना स्वीकृतिको संख्या बढे पनि लगानी प्रतिबद्धता, रोजगारी सिर्जना र विदेशी लगानीकर्ताको भिसा सिफारिसमा आएको गिरावटले नेपालमा विदेशी लगानीको विस्तारको गुणस्तर र वास्तविक कार्यान्वयनबारे प्रश्न उठाएको छ।



