काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा
बागमती — राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन मंगलबार मकवानपुर पुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण गरेका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेल द्रुतमार्गको सुरुङ ब्रेक थ्रु कार्यक्रममा सहभागी हुनुका साथै आयोजनाको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
काठमाडौंलाई तराई/मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गको निर्माण नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।



