पाकिस्तानद्वारा अमेरिका–इरान तनाव कम गर्न कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता

अन्तराष्ट्रिय

काठमाडौं । पाकिस्तानले अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न क्षेत्रीय मुलुकहरूको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताएका हुन्।

१० सदस्यीय इकोको बैठकमा इरानका विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न सदस्य राष्ट्रका कूटनीतिज्ञ सहभागी थिए। बैठकमा अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन क्षेत्रीय मुलुकहरूलाई आग्रह गरे। उनले अमेरिकामाथि आक्रामक नीति अपनाएको र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाउँदै फारसको खाडी तथा हर्मुज जलघाँटीमा उत्पन्न तनावका लागि अमेरिका र इजरायल जिम्मेवार रहेको दाबी गरे।

पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो। हर्मुज जलघाँटीमा जारी गतिरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा समेत असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको छ।

बैठकमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध सुधारको विषयले पनि प्राथमिकता पाएको थियो। विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक रहेको बताए। तर, त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकहरूको सुरक्षा चासो र आतंकवादको जोखिम सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

पाकिस्तानले तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी), बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) र अलकायदाजस्ता संगठनलाई अफगानिस्तानमा आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ। यद्यपि, काबुलले भने आतंकवादी समूहलाई समर्थन वा आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ।