१४ कम्पनीमध्ये चारको मात्रै नाफा बढ्यो, सन नेपाल लाइफ सबैभन्दा अगाडि; नेपाल लाइफको नाफा २८.७५ प्रतिशतले घट्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको खुद नाफा घटेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोजसम्म १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३४ प्रतिशत कम हो।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। समीक्षा अवधिमा १४ कम्पनीमध्ये चारवटाको नाफा बढेको छ भने १० कम्पनीको घटेको छ।
नाफाका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले तीन महिनामा २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत बढी हो। गत वर्ष कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।
दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ। तर, कम्पनीको नाफा गत वर्षको तुलनामा ११.३९ प्रतिशत घटेको छ। त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले १६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा कम्पनीको नाफा ५.७९ प्रतिशत बढेको हो।
यसअघि प्रायः सबैभन्दा बढी नाफा कमाउने नेपाल लाइफ इन्स्योरेन्सको नाफा भने घटेको छ। कम्पनीले पहिलो त्रैमासमा १५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २८.७५ प्रतिशत कम हो।
सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा ०.४० प्रतिशत बढेको हो। त्यस्तै, आइएमई लाइफले १४ करोड १२ लाख, नेसनल लाइफले १२ करोड ५६ लाख, सूर्यज्योति लाइफले १० करोड २९ लाख र सिटिजन लाइफले १० करोड ६६ हजार रुपैयाँ नाफा कमाएका छन्। यी चारवटै कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ।
हिमालयन लाइफको नाफा २२ प्रतिशत घटेर ९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ भने एलआईसी नेपालको नाफा १०.५२ प्रतिशत घटेर ९ करोड ६९ लाख रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिका आधारमा प्रभु महालक्ष्मी लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत वर्षको तुलनामा ४५.८९ प्रतिशत नाफा बढाएर ९ करोड ३० लाख रुपैयाँ पुर्याएको छ।
मेट लाइफको नाफा भने ५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो।



