भैरहवा । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ८ गतेदेखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । समपूर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा हुने प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ ।
तिलोत्तमा–१४, सुपौलीस्थित समपूर्ण युवा क्लबको मातहतमा रहेको बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अबिर पुन पाईजाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको मुख्य प्रायोजन लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रा.लि., तिलोत्तमा–१४, टिकुलीगढले गरेको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाईजाले प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले १ लाख ६० हजार ६६० रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।
प्रतियोगितामा रुपन्देहीसहित स्याङ्जा, पाल्पा र नवलपरासीका गरी १२ टोली सहभागी हुने खेल समितिका प्रचारप्रसार संयोजक रवि अर्यालले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।
वि.सं. २०७६ सालमा स्थापना भएको समपूर्ण युवा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
रबिन्द्र प्रताप गुप्ता, नेपाल न्यूज बैंक



