छठले जोड्दैछ देश : सुदूरपश्चिम टिकापुरको केरा जनकपुरमा

बजार

नकपुरधाम । नेपालमै उत्पादित केराले नेपाली बजारमा राम्रो स्थान पाउन थालेपछि किसानदेखि व्यवसायीसम्म उत्साहित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा उत्पादित केरा सयौँ किलोमिटरको दूरी पार गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधामसम्म आइपुगेपछि नेपाली कृषि उत्पादनले बजार पाउने सम्भावना थप बलियो बनेको छ ।

विशेषगरी छठ पर्वका बेला भारतबाट केरा आयात बन्द भएपछि जनकपुरधामको बजारमा नेपाली केराको माग र बिक्री बढेको व्यवसायीहरू बताउँछन् । विगतमा छठका बेला ठूलो परिमाणमा भारतबाट केरा आउने गरेको भए पनि यस वर्ष नेपाली उत्पादनले बजारको माग धान्न थालेको उनीहरूको भनाइ छ ।

जनकपुरधामको बजारमा सुनसरीको भण्टाबारी, इटहरी र इनरुवालगायत स्थानबाट पनि केरा आउने गरेको छ । तर यसपटक बजारमा बिक्री भइरहेका अधिकांश केरा कैलालीको टिकापुरबाट आएको फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भुवनेश्वर पुर्वे बताउँछन् ।

उनका अनुसार सुदूरपश्चिममा उत्पादित केरा जनकपुरधामसम्म आइपुगेर राम्रोसँग बिक्री हुनु नेपाली किसान र कृषि क्षेत्रका लागि सकारात्मक संकेत हो । यसले देशभित्रै उत्पादित कृषि उपजलाई अर्को प्रदेशसम्म पु¥याएर बजार विस्तार गर्न सकिने देखाएको छ ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष विश्वेश्वर यादवसहितका व्यवसायीका अनुसार जनकपुरधाममा अहिले केराको मूल्य घरीको आकार र गुणस्तरअनुसार फरक छ । सामान्यतया एउटा घरी केरा ७०० देखि १ हजार २०० रुपैयाँसम्म बिक्री भइरहेको छ भने साना घरी ४०० देखि ५०० रुपैयाँसम्ममा पाइन्छन् ।

फलफूल व्यवसायी राजु साहका अनुसार अहिले जनकपुरधाममा एउटा घरी केरा ८०० देखि १ हजार २०० रुपैयाँसम्म बिक्री भइरहेको छ । यस वर्ष नेपाली केराले आफ्नै देशको बजार पाउँदा देशको पैसा देशभित्रै रहने अवस्था बनेको उनी बताउँछन् ।

साहका अनुसार विगतका वर्षमा विशेषगरी छठ पर्वका बेला भारतबाट ठूलो परिमाणमा केरा आयात हुने गरेको थियो । त्यसबापत करोडौँ रुपैयाँ भारत जाने गरेकोमा यस वर्ष नेपाली उत्पादनले बजार पाउँदा उक्त रकम देशभित्रै रहने अवस्था बनेको उनको भनाइ छ । यसले नेपाली किसान, व्यवसायी र समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने उनी बताउँछन् ।

सुदूरपश्चिमको टिकापुरमा उत्पादित केरा मधेश प्रदेशको जनकपुरधामसम्म पुगेर बिक्री हुनु आन्तरिक बजार विस्तारको उदाहरण बनेको छ । एक प्रदेशमा उत्पादित कृषि उपज अर्को प्रदेशका उपभोक्तासम्म पुग्दा किसानले बजार पाउने र व्यवसायीले स्वदेशी उत्पादनको व्यापार गर्ने अवसर पाएका छन् ।

नेपाली किसानले उत्पादन गरेको कृषि उपजले आफ्नै देशमा बजार पाउनु कृषि क्षेत्रको आत्मनिर्भरतातर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ ।

फोटो,भिडियो सौजन्य ः ध्रुव झा,नेपाल न्यूज बैंक