काठमाडौं । हिजो कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाटुलो जून’ ले प्रदर्शनको पहिलो दिन नै सुखद व्यापार गरेको छ ।
पहिलो दिन नेपालभरबाट १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बक्सअफिस स्रोतले जनाएको छ । पहिलो दिन ३६ हजार टिकट बिक्री भएको बताइएको छ ।
चकलेटी बोईको छविबाट चिनिएका अनमोल यसपटक ‘बाटुलो जून’ मा केही परिपक्क देखिएका छन् । प्रेम, बिछोड र सामाजिक यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा उनको अभिनयले पुरानो छविभन्दा फरक स्वाद दिन्छ ।
चलचित्रमा अनमोलले अभिको भूमिका निर्वाह गरेका छन् । गाउँमा व्याप्त जातीय विभेद र अशिक्षा हटाउन सहरको जागिर छाडेर गाउँमै पढाउने निर्णय गर्ने पात्रका रूपमा उनी देखिएका छन् । यही यात्रामा उनको भेट जुन अर्थात् प्रिन्सी खतिवडासँग हुन्छ । विस्तारै उनीहरूबीच प्रेम सम्बन्ध स्थापित हुन्छ ।
अनमोल र प्रिन्सीको जोडी पर्दामा सुहाएको छ । उनीहरूबीचको प्रेम र भावनात्मक सम्बन्धले चलचित्रलाई आकर्षक बनाएको छ । अनमोलको अभिनयमा यसपटक निखार देखिएको छ ।
टिकटकबाट परिचित प्रिन्सीका लागि ‘बाटुलो जून’ डेब्यु चलचित्र हो । धेरै संवाद बोल्ने अवसर नपाए पनि उनले आफ्नो हाउभाउ र अभिनयबाट राम्रो प्रभाव छाडेकी छन् । संवादभन्दा अनुहार र प्रस्तुतिबाट भावना व्यक्त गर्न सक्ने उनको क्षमता प्रशंसनीय छ । पहिलो चलचित्रमै उनले आफ्नो अभिनय सम्भावना देखाएकी छन् ।
चलचित्रको सबैभन्दा भावुक पक्ष प्रेममा परेका जोडीको बिछोड र वर्षौंपछि हुने भेट हो । अभि र जुनको प्रेमले विवाहको रूप लिन पाउँदैन । समय बित्दै जाँदा उनीहरू जीवनको उत्तरार्धमा फेरि भेटिन्छन् । युवावस्थाको प्रेम र बुढेसकालको सम्झनालाई जोडेर चलचित्रले प्रेमको एउटा फरक पाटो देखाएको छ ।
यही प्रसङ्गमा भुवन केसी र गरिमा पन्तको प्रवेश हुन्छ । गरिमा पन्तको पर्दामा पुनरागमन दमदार छ । लामो समयपछि पर्दामा देखिएकी गरिमाले आफ्नो उपस्थितिलाई प्रभावशाली बनाएकी छन् ।
भुवन केसीको अभिनय चलचित्रको सबैभन्दा भावुक बनाउने पक्षमध्ये एक हो । विशेषगरी बिछोड, अधुरो प्रेम र जीवनको उत्तरार्धसँग जोडिएका दृश्यमा उनको अभिनयले दर्शकलाई भावुक बनाउन सक्छ । कतिपय दृश्यमा दर्शकका आँखा रसाउन सक्छन् ।
चलचित्रमा न्यान्सी खड्काले ताराको भूमिका निर्वाह गरेकी छन् । तर उनको चरित्र भने त्यति स्पष्ट रूपमा स्थापित हुन सकेको छैन । कथामा उनको भूमिकाको आवश्यकता र चरित्रको विकासलाई अझ प्रस्ट बनाउन सकिने ठाउँ देखिन्छ ।
‘बाटुलो जून’ शीर्षक आफैँमा प्रतीकात्मक लाग्छ । जून पूर्ण देखिए पनि त्यसको दूरी आफ्नै ठाउँमा हुन्छ । नजिकबाट हेर्न नसकिए पनि जून प्यारो लागिरहन्छ । चलचित्रको प्रेमकथा पनि यस्तै भावनासँग जोडिन्छ । सँगै हुन नपाए पनि प्रेम र सम्झना जीवनभर रहिरहन सक्छन् भन्ने भाव चलचित्रले प्रस्तुत गर्छ ।
समग्रमा ‘बाटुलो जून’ प्रेम, सामाजिक विभेद, समय र बिछोडको भावनात्मक कथा बोकेको चलचित्र हो । पहिलो दिनको बक्सअफिस कमाइले चलचित्रप्रति दर्शकको आकर्षण देखाएको छ । अनमोलको निखारिएको अभिनय, प्रिन्सीको आशालाग्दो डेब्यु तथा गरिमा र भुवनको प्रभावशाली प्रस्तुतिले चलचित्रलाई हेर्नलायक बनाएका छन् ।
केही पात्रको चरित्र चित्रणमा अझै स्पष्टता आवश्यक देखिए पनि भावनात्मक प्रेमकथा मन पराउने दर्शकका लागि ‘बाटुलो जून’ राम्रो विकल्प बन्न सक्छ ।
प्रमिला कार्की,नेपाल न्यूज बैंक



